justnep single

जसपाले गर्‍यो आन्दोलनको घोषणा

admin

काठमाडौं, ७ पुस : जनता समाजवादी पार्टी(जसपा)ले आन्दोलन गर्ने घोषणा गरेको छ। मंगलबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो। संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले सो बैठकले प्रतिनिधिसभा विघटनविरूद्ध विभिन्न आन्दोलनका कार्यक्रम आयोजना गर्ने निर्णय गरेको बताए।

पुस ८ गते सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने, १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौंमा केन्द्रिकृत जनप्रदर्शन गर्ने निर्णय गरेको हो। साथै प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानले नदिएको भन्दै बैठक सुरू गर्न सभामुख अग्नी सापकोटालाई आग्रह गर्ने निर्णय गरेको छ।

‘प्रतिनिधिसभा अहिले पनि जीवित छ। त्यसकारण हामीले सभामुखलाई प्रतिनिधि सभाको बैठक आह्वान गर्न आग्रह गर्ने निर्णय गरेका छौं,’उनले भने।  बैठकले विघटनको घोषणा हुनु असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको भन्दै पूर्णरूपमा खारेज गरेको पनि उनले बताए।

‘प्रधानमन्त्री र राष्ट्रपतिले जुन संविधान उल्लंघन गर्नुभएको छ त्यसप्रति हाम्रो घोर आपत्ति छ, विरोध छ र हामी प्रतिनिधि सभा अहिले पनि जीवित छ भन्ने मान्यता राख्छौं। हाम्रो निर्णय यो भएको छ,’ उनले भने।

प्रतिक्रिया