काठमाडौं, ६ असाेज : सुलोचना राजभण्डारी ७८ वर्ष पुगिन् । यस्तो बेला परिवारसँगै रहेर आरामको जिन्दगी बिताउनुपर्ने हो । तर, छोराबुहारी, तीन नातिनातिनीसहितको परिवार छाडेर गोंगबुस्थित हिमालय वृद्धाश्रम केन्द्रमा बस्न थालेको ५ वर्ष भयो । चाडपर्व तथा घरायसी काम परेका बेलामात्र उनी सामाखुसी म्हेपीस्थित घर पुग्छिन्, लगतै वृद्धाश्रमतिरै फर्किहाल्छिन् ।
१० वर्षअघि श्रीमान् गुमाएपछि उनी चरम निराशामा गुज्रिइन् र आफूलाई एक्लो महसुस गर्न थालेपछि वृद्धाश्रम आइपुगिन् । उस्तै उमेरका अरु वृद्धासँग भलाकुसारी र सक्ने काममा सहयोग गर्दै आएकी उनमा फेरि दिग्दारी र निराशा बढेको छ ।
कोरोना संक्रमणबाट आश्रमका वृद्धवृद्धाको मृत्यु भएपछि उनमा बेचैनी थपिएको छ । ‘मान्छे मार्ने कस्तो रोग आयो आयो,’ उनले भनिन्, ‘अब कति बाँचिएला र † कसैको मायामा नअल्झाइकन ल है भगवान् हिँड्दा–हिँड्दैको मरण होस् ।’
वृद्धाश्रमकै सञ्चालक सदस्यसमेत रहेकी गोंगबुकी पूर्णदेवी महर्जनको अधिकांश समय यहीँ बित्छ । वृद्धाश्रम निर्माण समितिका अध्यक्ष रहेका श्रीमान् अष्टमान महर्जनको चार वर्षअघि निधन भएपछि उनी एक्लो बनेकी छन् । छोरीहरूको विवाह भइसकेको छ, छोराबुहारी कामकाजी छन् । उनी दिनभर वृद्धाश्रमै बसेर बेलुका घर फर्कन्छिन् ।
कोरोनाका कारण उनी आफन्त भेट्न तथा बजार निस्कन सकेकी छैनन् । घरमा पहिला जस्तो चिनेजानेकासँग जमघट नहुँदा झन् दिक्क लागेको उनले सुनाइन् । ‘दिनभरि घरमा एक्लै के गरेर बस्ने ? कुरा गर्ने कोही हुन्न । यता आयो भने दिन गएको पत्तै हुन्न,’ उनी भन्छिन् ।
आफन्तबाट परित्यक्त ज्येष्ठ नागरिकहरूको जीवन महामारीले थप सकसपूर्ण बनाएको छ । परिवारका सक्रिय सदस्यहरू कामका साथै सामाजिक सञ्जालमा व्यस्त हुँदा ज्येष्ठ नागरिक एक्लिनुपरेको मानसिक रोग विशेषज्ञ डा. रितेश थापा बताउँछन् ।
यो समस्या महामारीमा थप विकराल बनेको उनको भनाइ छ । ‘नयाँ पुस्ता प्रविधिसँग नजिकिँदै गर्दा घरका अभिभावकसँग टाढिँदै छन्,’ उनले भने, ‘ज्येष्ठ सदस्यको कुरा सुन्ने, मानसिक समस्या बुझिदिने मान्छे छैन । तनावसँगै उहाँहरूमा एक्लो छु भन्ने लाग्छ ।’
सरकारले ७० जिल्लाका ६० वर्षभन्दा माथिका ८ हजार ६ सय २६ जना ज्येष्ठ नागरिकसँगको अन्तर्वार्ताका आधारमा रहेर गरेको ‘नेपाल ज्येष्ठ नागरिक अध्ययन सर्वेक्षण (नेपाल एजिङ सर्भे) २०१४’ अनुसार ७२ प्रतिशतले मात्र बाबुआमालाई जीवन निर्वाहमा सहयोग गरेका छन् ।
८१.३ प्रतिशत पुरुष र ८२.२ प्रतिशत महिलाले आफूहरू डिप्रेसन र हीनताबोधको सिकार भएको उल्लेख गरेका छन् । २०६८ सालको जनगणना अनुसार कुल जनसंख्याको वार्षिक वृद्धिदर १.३५ प्रतिशतमा हुँदा ज्येष्ठ नागरिकको वृद्धिदर ३.७ प्रतिशतले भइरहेको छ ।
हाल मृत्युदर र जन्मदर घट्नु, जीवन पद्धतिमा परिर्वतन आउनु, स्वास्थ्यप्रति सचेतना वृद्धि तथा स्वास्थ्य उपचारमा पहुँच बढेकाले ज्येष्ठ नागरिकको जनसंख्या वृद्धि भइरहेको राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन २०७० उल्लेख छ ।
ज्येष्ठ नागरिकको हक, अधिकार र सुरक्षाका लागि बनेको ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३’ अधिकारमुखी नभएर परोपकारी भएकाले उक्त ऐनले ज्येष्ठ नागरिकको अधिकारको प्रभावकारी संरक्षण गर्न नसकेको निष्कर्ष आयोगको प्रतिवेदनले निकालेको छ ।
प्रतिवेदनअनुसार सरकारी तथा संस्थागत रूपमा सञ्चालित वृद्धाश्रममा महिला ज्येष्ठ नागरिकको संख्या बढी छ । सरकारी वृद्धाश्रममा ४२.१३ प्रतिशत पुरुष र ५७.७८ प्रतिशत महिला ज्येष्ठ नागरिक छन् । त्यस्तै संस्थागत वृद्धाश्रममा ३७.२७ प्रतिशत पुरुष र ६२.७२ प्रतिशत महिला छन् ।
पारिवारिक बेमेल तथा एक्लोपना महसुस भएपछि घरै त्यागेर परिवारबाट टाढिने, एक्लै बस्ने ज्येष्ठ नागरिकको संख्या बढ्दै गएका बेला महामारीले उनीहरूलाई थप सकस दिएको तीनकुनेस्थित नि:सहाय सेवा सदनका प्रशासकीय अधिकृत प्रेम उप्रेतीले बताए । ‘परिवार र समाजमा झैंझगडा, मनमुटाबको कारण ज्येष्ठ नागरिकलाई देखाइएको छ,’ उनले भने, ‘अझ आमाहरू यसबाट बढी प्रभावित छन् ।’
महामारीमा ज्येष्ठ नागरिकहरूमा एक्लोपनासँगै डिप्रेसनको समस्या उच्च देखिएको मानसिक रोग विशेषज्ञ डा. थापा बताउँछन् । उनका अनुसार ७० वर्षका एक वृद्धले जवान छोरालाई कोरोनाकै कारण गुमाए । छोराको सट्टा कोरोना आफैंलाई लागेको भए हुने, आफैं मर्न पाए हुने भन्ने मानसिक छटपटीले एक्लै बस्न थाले । त्यस्तै, ६० वर्षकी वृद्धालाई कोरोना संक्रमण भयो ।
कोरोनामुक्त भएपछि पनि उनी बाहिर घुलमिल गर्न मानिनन् । कोरोनाले अब मरिन्छ, केही गर्न सकिन्न भन्ने पिरलोले भित्रभित्रै तनावमा रहिन् । डा. थापाको सम्पर्कमा आएका उनीहरू दुबैलाई काउन्सलिङ गर्दा डिप्रेसनको संकेत देखियो ।
‘कतै जानुहुन्न, रोगले छिट्टै आक्रमण गर्छ, सामाजिक दूरी बढाउनुपर्छ, शरीर कमजोर छ भन्ने मानसिकताले ज्येष्ठ नागरिक घरभित्रै एक्ला भएका छन्,’ उनले भने, ‘यसले उहाँहरूलाई मानसिक डिप्रेसनमा पुर्याइरहेको छ ।’
कोरोना महामारीका बेला आश्रम जेलजस्तै बनेको एक वृद्धाले गुनासो गरिन् । आश्रय स्थलमा रहेका उनीजस्तै ज्येष्ठ नागरिक महामारीका कारण करिब डेढ वर्षदेखि बाहिरी संसारसँगको सम्पर्कबाट टाढिएका छन् । कतिपयले त कोरोनाकै कारण देखाएर आफन्तसँग भेट्न पनि रोक लगाएका छन् ।
जेष्ठ नागरिकका लागि हुँदै आएका मनोरन्जन तथा घुमफिरका कार्यक्रम पनि रोकिएको छ । यसले ज्येष्ठ नागरिकहरूमा एक्लोपना र नैराश्य ल्याएको उप्रेती स्विकार्छन् । सबैजसो घरमा ज्येष्ठ नागरिक एक्लिँदै गएकाले उनीहरूलाई मानसिक पीडाबाट जोगाउन सरकारले व्यवस्थित सुविधा सम्पन्न आवास तथा हेरचाहको व्यवस्था गर्नुपर्ने उनको तर्क छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।