justnep single

तराईमा चिसो बढेपछि, सुकेका उखुका पात बालेर खेती स्याहार्दै किसान

admin

काठमाडौं, १२ माघ : तराईमा जिल्लामा चिसो धरै बढेको छ । (हिजो) आइतबार बिहानदेखि तराईका जिल्लामा बाक्लो कुहिरो र हुस्सु लागेको छ । अझै केही दिन तराईका सबैजसो जिल्लामा बाक्लो कुहिरो र हुस्सु लाग्ने सम्भावना रहेकाले चिसो अझै बढ्न सक्ने मौसमविद् विभूति पोखरेलले बताइन् ।

मौसमविद् पोखरेलकाअनुसार उत्तर पश्चिम वायुको प्रभावका कारण तराईका केही शीतलहरको जोखिम रहेको छ । बाक्लो हुस्सु कुहिरोका कारण तराईका जिल्ला महोत्तरी, सप्तरी, बारा, रौतहट र धनुषामा दैनिक मजदूरी गरी जीवनयापन चलाउनेहरु समस्यामा परेका छन् । महोत्तरीमा चार दिनदेखि घाम नै लागेको छैन । चिसो बढेपछि महोत्तरीमा दाउरा बालेर आगो ताप्नेहरु बढेका छन् ।

यतिबेला उखु खेती स्याहार्ने बेला भएकाले उखु किसान भने चिसोका बाबजुत पनि खेतबारीमा जान बाध्य छन् । चिसोबाट बाँच्न उनीहरुले काम गर्दै गर्दा सुकेको उखुका पातलाई जलाएर आगो ताप्ने गरेका छन् । यस्तै, महोत्तरीका प्रमुख जिल्ला अधिकारी केशव विमलीले चिसोका कारण नागरिक प्रभावित भएका भन्दै विपद् व्यवस्थापनको बैठक बसेर राहत वितरण गर्ने तयारी भएको जानकारी दिए ।

यस्तै, चिसो बढेपछि जिल्लाका पालिकाहरुले पनि दाउरा बाँड्न थालेका छन् । मौसमविद्ले तराईका जिल्लामा शीतलहरकै सम्भावना रहेकाले स्वास्थ्यको ख्याल गर्न आग्रह गरेका छन् । मौसमविद्ले तराईसँगै देशभर चिसो बढ्ने पूर्वानुमान गरेका छन् । उत्तर पश्चिम वायुको प्रभावका कारण देशका धेरै ठाउँमा चिसो हावा चल्न थालेको मौसमविद् पोखरेलले जानकारी दिइन् ।

सोमबार काठमाडौंको न्यूनतम तापक्रम ३ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । आइतबार न्यूनतम तापक्रम ४ दशमलव २ डिग्री सेल्सियस थियो । काठमाडौं उपत्यकालगायत केही जिल्लामा घाम लागे पनि चिसो हावा चल्ने भएकाले चिसो बढ्ने मौसमविद्ले बताएका छन् । तर, चिसो बढे पनि तत्काल पानी भने नपर्ने मौसमविद्को भनाइ छ ।

यसैबीच, वर्षा र हिमपात गराउने पश्चिमी वायुको शक्तिशाली प्रणाली नेपाल प्रवेश नगर्दा यसपालि हिउँ समेत राम्ररी परेको छैन । हिउँ नपर्दा सेता हिमाल काला हुँदै गएका छन् । हिउँ पर्न छाडेपछि लेक र खर्कमा पाइने यार्सागुम्बा, नीरमसी, जटामसी, वनलसुन, कुट्कीलगायत बहुमूल्य जडीबुटी उत्पादनमा समेत कमी आउन थालेको छ ।

प्रतिक्रिया