justnep single

तालिम प्राप्त पत्रकार नहुँदा विकृति, विसङ्गति जन्मियो : सञ्चारमन्त्री

admin

काठमाडौं, २५ माघ : सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारहरूलाई तालिमको आवश्यकता रहेको बताएका छन् । आइतबार काठमाडौंमा आमसञ्चार र श्रमजीवी पत्रकार नीति, कार्यक्रम र बजेट विषय छलफल कार्यक्रममा बोल्दै मन्त्री गुरुङले पत्रकारहरूलाई तालिमको आवश्यकता रहेको बताएका हुन् ।

तालिम प्राप्त पत्रकार नहुँदा विकृति, विसङ्गति जन्मिएको भन्दै उनले पत्रकारहरूका लागि तालिम केन्द्रको विकास नगरि पत्रकारिता क्षेत्रको गुणस्तर नहुने बताए । आफ्नो योग्यता, क्षमता र गुणस्तरविना बजारमा बिक्री हुन्नौँ भन्ने हेक्का पत्रकारहरूले राख्नुपर्ने उनको भनाइ छ ।

उनले विरोध गरेपछि मात्रै पत्रकार भइन्छ भन्ने धारणा परिवर्तन नगरेसम्म पत्रकारिता क्षेत्रलाई सम्मानित, मर्यादित र जिम्मेवार बनाउन नसकिने पनि बताए । मन्त्री गुरुङले पत्रकारहरूका लागि प्रशिक्षण प्रतिष्ठान खोल्ने कुरा सरकारको नीति कार्यक्रममा ल्याउने बताए ।

उनले अनलाइन नवीकरणका लागि जिल्ला हुलाक कार्यालयबाट हुने गरि नीतिगत निर्णय गरिएको भए पनि हुलाकका कर्मचारी दक्ष नहुँदा प्रभावकारी नभएको बताए । पत्रकार प्रेस पासबारे कार्यविधि बनाएर वर्षैपिच्छे नवीकरण गर्ने परम्पराको अन्त्य गर्ने प्रयत्न गर्ने उनको भनाइ छ ।

उनले पत्रकारको समस्या समाधानका लागि प्याकेज बनाएर अघि बढ्ने बताए । पत्रकारहरूका लागि कोरोना भाइरसविरुद्धको खोपको व्यवस्था गरिएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया