काठमाडौं, २३ भदौ : तीजको अघिल्लो दिन (आज) बुधबार दर खाइँदै छ । दर खाँदा आफ्नो स्वास्थ्यको पनि ख्याल गर्न डाक्टरले सुझाव दिएका छन् । दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ । तीजको दिन निराहार ब्रत बस्ने परम्परा रहेकोले बुधबार आडका लागि बेलुका पछि पौष्टिक तत्व भएका खानेकुरा खाने चलन चलेको हो ।
यस्तै जनस्वास्थयविद् डाक्टर अरुणा उप्रेतीका अनुसार सकेसम्म धेरै चिल्लो र पिरो खानेकुरा खानु हुँदैन । खानाको सन्तुलन नमिल्दा शरीरको रक्तचाप तथा सुगरको मात्रा घट्न गइ बेहोश हुन सक्ने उनले बताइन् । दरमा माछामासु र अन्य खानेकुरासँगै हरियो सागपात पनि खानु पर्ने उनको भनाइ छ । (भोलि) बिहीबारको तीजका लागि धेरैजसो चेलीहरु बुधबार माइत जान्छन् । बिहीबार नाचगानसहित तीज पर्व मनाइन्छ ।
आउँदो शनिबार ऋषिपञ्चमी मनाए पछि यसपालिको तीज सकिन्छ । तीजमा पशुपतिनाथलगायत देशभरका शिवालयमा महिलाको भीड लाग्ने गरेको छ । तर पोहोर जस्तै यसपालि पनि कोरोनाको जोखिम कायमै रहेकाले भीडभाड नगर्न र आफ्नो परिवारमा मात्रै पर्वलाई सिमित राख्न डाक्टरले सुझाव दिएका छन् ।