काठमाडौं, २३ माघ : नेकपा ओली समूहले नारायणहिटी दरबार अगाडि शुक्रबार बृहत जनसभा गर्ने तयारी गरिएको छ । बृहत जनसभाका लागि दरबारमार्ग क्षेत्रका सडक डिभाइडर बिहीबार नै हटाइसकिएको छ भने यस क्षेत्रका व्यापार तथा व्यवसायहरु बन्द गर्न समेत सुचित गरिएको छ । अहिले काठमाडौंको दरबारमार्ग आसपासमा सार्वजनिक गाडीलाई प्रवेशमा रोक लगाइएको छ । नारायणहिटीको अगाडिपट्टि शुक्रबार नेकपाको केपी शर्मा ओली समूहले जनसभा गर्दैछ । यसकै कारण सार्वजनिक गाडीलाई प्रवेशमा रोक लगाइएको हो ।
(हिजो) बिहीबार नेकपाको प्रचण्ड-नेपाल समूहको आमहड्तालले हैरान खेपेका नागरिकले शुक्रबार पनि सास्ती पाउने भएका छन् । अहिले यो मार्ग भएर साना निजी गाडी भने चलिरहेका छन् । शुक्रबारको जनसभालाई ध्यानमा राखेर दरबारमार्ग क्षेत्र हुँदै चल्ने गाडीलाई ठाउँ(ठाउँबाट डाइभर्सन गरिएको छ ।
जयनेपाल हल, माइतीघर मण्डला, थापाथली, सिंहदरबार, त्रिपुरेश्वर, लैनचौर, सोह्रखुट्टे, पुतलीसडक, कृष्ण पाउरोटी, पद्मोदयमोडलगायतका क्षेत्रबाट गाडी डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
यस्तै, यात्रुवाहक ठूला सार्वजनिक बसलाई चक्रपथभित्र चलाउन पनि दिइएको छैन । जनसभाका कारण बढ्ने चापलाई मध्यनजर गर्दै यात्रुवाहक बसलाई चक्रपथमा मात्रै चलाउन दिइएको महाशाखाले जनाएको छ । ओली समूहको जनसभामा आउन काठमाडौंका ठाउँ-ठाउँमा अहिले नेता कार्यकर्ता भेला हुन थालेका छन् । जिल्ला बाहिरबाट पनि नेता कार्यकर्ता काठमाडौं आउँदै छन् । ओली समूहले सभाका लागि देशभरबाट कार्यकर्ता दरबारमार्गमा उतार्न लागेको जनाएको छ ।
उक्त सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेकपा स्रोतका अनुसार उपत्यकाका १५ स्थानबाट जुलूस निकाल्ने तयारी भईरहेको छ । जनसभालाई लक्षित गरेर प्रहरीले राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ ।
बिहीबार नेकपा प्रचण्ड-नेपाल पक्षले गरेको देशव्यापी आमहडतालका कारण सर्वसाधारणले सास्ती खेपेको भन्दै चर्को आलोचना भईरहेको छ । राजधानीमा शुक्रबार हुने जनसभाले समेत उपत्यकाको ट्राफिक व्यवस्थामा प्रभाव पर्ने जनाउँदै बैकल्पीक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरी महाशाखाले आग्रह गरेको छ ।