“दैनिक ४०-४५ जनालाई खाना खुवाई राखेका छौं” : अध्यक्ष सौगात बस्नेत

रबि धिताल

पनौती युवा मञ्च पनौतीका युवाहरू मिलेर पनौती बजार क्षेत्र आसपासमा रहेका असहाय, घरबारविहिन, अलपत्र परेकाहरूलाई खाना खुवाउने काम भइरहेको छ । युवा मञ्चले दैनिक ४० ४५ जना व्यक्तिहरूलाई खाना खुवाई रहेको छ । यसै सन्दर्भमा युवा मञ्चका अध्यक्ष सौगात बस्नेतसँग हाम्रो फोनवार्ताः

० लकडाउनको बेलामा तपाईंहरूले अलपत्र परेकाहरूलाई खाना खुवाइरहनुभएको छ, कहिलेबाट खुवाउनुभएको हो ?
हामीले लकडाउन सुरू भएको चौथौं दिन १४ गते बेलुकादेखि खाना खुवाउन सुरू ग¥यौं । जुन निरन्तर भइरहेको छ ।

० कुनै संघसंस्थामार्फत् गर्दै हो कि व्यक्तिगत हो ?
हाम्रो एउटा संस्था छ, पनौती युवा मञ्च भन्ने पहिलेदेखि नै हामी युवाहरू मिलेर दर्ता गरिराखेको संस्था थियो, त्यही संस्थामार्फत् नै यो काम गरिरहेका छौं ।

० कति जनालाई खाना खुवाइरहनुभएको छ ? के छ अवस्था ?
यहाँ मजदुरी गरेर खानेहरू, मागेर खानेहरू, जो चाहिँ गाडीका सहचालकहरू अहिले गाडी बन्द भएपछि गाडीमै सुत्ने, होटलमा खाना खाने खालका यी व्यक्तिहरू हामीले कलेक्सन गर्दा दिनमा ४० देखि ५० जनालाई बिहान बेलुकै खाना खुवाउँछौं तर बिहान ५० जना, बेलुका ५० जनाको लागि रेगुलर तयार गरिराखेका हुन्छौं ।

० ती मजदुरहरू कहाँ बस्छन् ?
हामीले पहिला २-४ दिन सामाजिक दूरी राख्नु भनेको भएर उनीहरू जहाँ जहाँ बस्छन् त्यहीँ त्यहीँ खोज्दै गयौं । बजारतिर, कोहि पाटीतिर देखियो, कोही रिक्सा चलाउनेहरू रिक्सामाथि नै सुत्ने राती पनि हामी यहीँ बस्छौं भन्ने सुनियो, कोही खाली गाडीहरूमा बसेको देखियो । धेरैजसो पाटीमा बसेका देख्यौं र उनीहरूलाई हामीले यता बोलाएर एक ठाउँमा राखेर सामाजिक दूरी ३ फिटको दूरीमा राखेर हामीले खाना खुवाउन थालेदेखि यो नगरपालिकाले बनाएको विल्डिङ पछाडी नै आएर खाना खाने गर्नु भएको छ ।

० दैनिक कति जति खर्च हुन्छ ?
खर्च यति नै भनेर हिसाब राखेको छैन । किनभने हामीलाई पनि त्यही अनुसारको सहयोग आउँछ । कसैले चामल, कसैले दाल, कसैले ग्याँस, कसैले हरियो तरकारीहरू ल्याइदिनुहुन्छ । तर नर्मल हाम्रो सोचमा बिहानको खाना एक जनाले खाँदा कति पर्छ भन्दा नर्मल रेट रू. १५० देखि १८० को हिसाब गर्दा प्रतिदिन बिहान बेलुका १४÷१५ हजार खर्च हुन्छ ।

० खाद्यान्न उपलब्ध गर्ने निकायहरू सम्झिनुपर्दा कुन कुन सम्झिनुहुन्छ ?
निकाय भन्नाले त्यस्तो संस्था, संगठनले गरेको होइन । व्यक्ति, जो पनौतीमा बस्नुभएका आदरणीय दाइहरू, हामीलाई माया गर्नुहुने शुभचिन्तक, संस्थापकज्यूहरू, संस्थाका सदस्यज्यूहरू, समाजसेवी भावले ओतप्रोत भएका पनौती क्षेत्रका आदरणीय महानुभावहरूले नै उपलब्ध गराइरहनुभएको छ ।

पनौती युवा मञ्चका साथीहरूले सुरूका दिनमा हामी–हामी मिलेर कसैले चामल, कसैले दाल, कसैले ग्याँस लियौं । हामीलाई माया गर्नेहरुले खाद्यान्न उपलब्ध गराउनु भएको छ । समग्रमा व्यक्तिगत रूपमा धेरै जना दाइहरू, साथीहरू, शुभचिन्तकहरूले सहयोग गरिरहनुभएको छ ।

० नगरपालिकासँग तपाईंहरूले कुनै समन्वय गर्नुभएको छैन ?
नगरपालिकाको सवालमा हामीले नगर प्रमुख भीम न्यौपानेज्यूसँग सल्लाह गर्दा उहाँले हुन्छ, यो रोगको समयमा संयमित भएर अनि विचार पु¥याएर काम सुरू गर्नु भन्नुभयो । कुनै सहयोग आवश्यक परेमा नगरपालिकासँग समन्वयमा लागि भन्नुभयो । तर, नगरपालिका पनि यो संकटमा द्रुत गतिमा काम गरिरहेको छ । उहाँहरूले त सिंगो नगर नै हेर्नु पर्ने भएका कारण हामीले सकेसम्म नगरपालिकालाई कुनै दुःख नदिने मनसाय राखेर काम शुरू ग¥यौँ ।


यद्यपि केही कठिनाई आइपरेमा हामी सहयोगार्थ जाने नै छौ । त्यसपछि मैले यहाँका प्रहरी प्रमुख सुशिल घिमिरेसँग पनि सल्लाह गरें । उहाँले सामाजिक दूरी राखेर, जहाँ जहाँ छन् उहीँ पु¥याइदिनु खाना प्याक गरेर, बसपार्कमा भीडभाड नगर्नु भनेपछि मैले उहाँहरूसँग सल्लाह, समन्वय गरेर काम सुरू गरेको हुँ । नगर प्रमुखले अप्ठ्यारो के छ मलाई खबर गर्दै गर्नु भनेर उहाँले पनि सल्लाह दिइरहनुभएको छ ।

० उनीहरूको स्वास्थ्य परीक्षण गर्नुभएको छ ?
शुरुमा त स्वास्थ्य परिक्षण गरेका थिएनौ । तर, पछि हामीले निणर्य ग¥यौँ । पनौती नगरपालिकालाई आग्रह ग¥यौँ । नगरपालिका पनि निक्कै सकारात्मक भयो । फलतः नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखले पनि कोरोना सम्बन्धी जाँच गर्ने प्रवन्ध मिलाई दिनु भयो । सबैको स्वास्थ्य परिक्षण पनि गरायौं । कतिपय व्यक्तिका पुराना चोटपटक पनि रहेछन् । त्यसको पनि उपचार गरिएको छ । नगरप्रमुख स्वयं उपस्थित भएर अरु आवश्यक औषधि पनि उपलब्ध गराई दिनुभयो ।


० खाना कहाँ बनाइरहनुभएको छ ? समस्या के छ ?
खाना पनौती युवा मञ्च संस्थाका सदस्य सञ्जयसिं ठकरीज्यू हुनुहुन्छ । उहाँको बसपार्कको बिचमै जि.टी. रेष्ट्रो छ, उहाँकै रेष्टुरेन्टको किचेन प्रयोग गरिरहेका छौं । उहाँले धेरै सहयोग गरिरहनुभएको छ । हामी युवा–युवा मिलेर काम गरिरहेका छौं । खाना पकाउनेदेखि लिएर भाँडा माझ्नेसम्म, सरसफाइ सबैमा व्यवस्थापन गरिरहेका छौं । समस्या नै भनेर त्यति ठूलो अप्ठ्यारो छैन ।

० भावी दिनमा लकडाउनको समय लम्बिँदै गयो भने कतिसम्म यसलाई निरन्तरता दिनुसक्नु हुन्छ ?
जब हामीले यो कार्य सुरू ग¥यौं पहिलो अप्ठ्यारो प्रश्न नै यही थियो । हामीले खाना खुवाउन सुरू गरेर २÷४ दिनमा बन्द गर्नुपरेछ भने त्यसले नराम्रो सूचना जान्छ, त्यसैले सुरू नगरौं भन्ने सल्लाह भएको थियो । तर, हाम्रा साथीहरूले कतिसम्म हौसला प्रदान भयो भने हामी मिल्यौं भने हाम्रा धेरै साथीभाइ छन्, धेरै साथीभाइले सहयोग गर्नुहुन्छ ।

खान नपाउनेहरूले भोलि खान नपाए झन् अप्ठ्यारो हुन्छ, ती वर्गहरूलाई हामीले जसरी भएपनि खाना खुवाउनुपर्छ र लकडाउनभरि हामी सक्छौं, यसमा तयारी गरौं भनेको भएर नै हामीले कोसिस गरेका हौं । त्यसैले हामी के कुरामा प्रतिबद्ध छौं भने यो लकडाउनभरि जतिसम्म बढ्ला यो लकडाउनभरि उहाँहरूको उद्धार गर्ने कोसिसमै छौं हामी ।

० खानाको मेनु केही छ कि सधैंको हाम्रो भान्साको जस्तै नर्मल हो ?
खाना खुवाउने सवालमा खाना खुवाउन शुरु गरेपछि यहाँका स्थानीयहरूले तरकारीहरू उपलब्ध गराइदिनु भयो । जुन निरन्तर छ । त्यही तरकारीहरू बनाएर खुवाउँछौं । त्यस्तै फ्रेश हाउस, पोल्ट्री फार्महरू पनि छन्, फार्महरूबाट अण्डाहरू आउँछ, उहाँहरूले आज मेरो तर्फबाट मासु, अण्डा पकाएर खुवाइदिनु भन्नुहुन्छ र कहिलेकाहिँ मासु पकाएर, अण्डाकरी पनि खुवाउने गर्छाैं ।

पनौती दुध धेरै भएको ठाउँ, यहाँ दुधहरू धेरै संकलन हुन्छ, डेरीबाट दुध पठाइदिनुहुन्छ, कहिलेकाहिँ खिर बनाएर खुवाउँछौं । सकेसम्म विभिन्न भेराइटीहरू बनाउँछौं, कहिले पनिर, कहिले मासु बनाएर खुवाइरहेका छौं । भेराइटी चाहिँ यहाँ जे आउँछ त्यसलाई नै व्यवस्थापन गरेर सकेसम्म भेराइटी नै खुवाउने कोसिस गरिरहेका छांै । एउटै खानेकुरा खुवाउँदा उनीहरूलाई वाक्क होला भन्ने हिसाबले विभिन्न भेराइटीका खानेकुराहरू खुवाइरहेका छौं ।

० तपाईंहरूले उद्धार गरेका व्यक्तिहरूको भनाइ के छ ?
उहाँहरू कति जना त के भयो भन्ने नै थाहा नहुनेहरू हुनुहुन्छ । के भएर खान पाएन, किन बन्द भयो भनेर थाहा नभएकाहरू पनि हुनुहुन्छ । हामीहरूले यहाँ बोलाएर खाना खुवाइसकेपछि उहाँहरूले मनदेखि धन्यवाद दिनुभएको छ । खान नपाएर हामी मथ्र्यौं होला, तपाईंहरूले सहयोग गरिदिनुभयो, खाना खुवाइ दिनुभयो भनेर धन्यवाद दिनुहुन्छ । उहाँहरू खुशी भएको देख्दा हाम्रो मन आनन्दित छ अहिले ।

० यहाँ ४०-५० आसपास हुनुहुन्छ, उहाँहरू लामो समयदेखि घरबारबाट टाढा हुनुहुन्छ केही दुरी बढेको छ, केही काउन्सिलिङ गर्नु भएको छ ?
हो, यो निक्कै संवेदनशील कुरा हो । हामीले दिनहुँजसो उहाँहरूसँग घर परिवारको बारेमा कुरा गर्ने वातावरण बनाउने कोशिस गरिरहेका छौ । कतिपय त बेघरबार, के भइरहेको छ भन्ने पत्तो नपाउने अवस्थामा हुनुहुन्छ उहाँहरूलाई हामीले यस्तो अवस्था छ भनेर बुझाएका छौँ ।

यसका अलावा विशेष गरी यहाँ गाडीमा हिँड्ने होलान्, कतै रिक्सा चलाउने, भारी बोक्ने, विभिन्न पसलहरूमा कुल्लीको काम गरेर खाने पनि हामीले याद गरेका छौं । त्यसैगरी बुढापाकाहरू हिँड्नै नसक्ने अवस्थाका पनि हुनुहुन्छ ।

उहाँहरूको मनौवैज्ञानिक सोचमा फरक आउला भनेर हामीले बिहान खाना खुवाउनुभन्दा अगाडि देखिनै गफ गरेर रमाइलो गरिदिन्छौं । खाना बाँड्दा पनि रमाइलो गरेर बाडेका छौं, बेलुका यो समयमा आउनु, आफूले खाएको सफा गर्नुपर्छ, यसरी हातखुट्टा धुनुपर्छ भनेर सिकाउँछौं, सम्झाउँछौं । यसरी उहाँहरूलाई फ्रेश बनाउने कोसिसमै छौं ।

प्रतिक्रिया