justnep single

नाकाबन्दीको सामना गर्दा जस्तै अवस्था भोगेँ, कामै गर्न नदिएपछि संसद् विघटन गरेको हुँ : प्रधानमन्त्री

admin

काठमाडौं, ६ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा नाकाबन्दीको बेला त्यसको डटेर सामना गर्दा सरकार नै ढलेको जस्तै अहिले पनि षड्यन्त्र भएको दाबी गरेका छन् । सोमबार दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै ओलीले विगतमा राष्ट्रियताका पक्षमा काम गर्दा सरकार ढलेको र अहिले पनि राष्ट्रियताकै पक्षमा लाग्दा विगतकै पात्रले आफूलाई अफ्ठेरोमा पारेको बताए ।

प्रधानमन्त्री ओलीले भनेका छन्, ‘परिस्थिति र समय फरक भए पनि पात्र यिनै हुन्, कतिपय नेताहरु नेपाललाई अनन्त अस्थिरतातर्फ धकेल्न लागिपरेको प्रष्ट हुन्छ ।’ तत्कालीन माओवादी र एमाले एकजुट भएर चुनाव लडेको तर नतिजापछि आफूलाई खेद्ने, सरकार बनाउनै नदिने, विभिन्न पदमा आफ्ना मान्छे चाहियो भन्दै असहयोग गर्ने गरेका कारण आफू समस्यामा परेको ओलीको भनाइ छ ।

आफ्ना पार्टीका नेताहरू प्रतिपक्षी दलभन्दा पनि एक कदम अघि बढेर विरोध र अवरोधमा लाग्दा आफूलाई काम गर्न समस्या भएको उनको भनाइ छ । ओलीले आफूलाई कामै गर्न नदिएपछि बाध्य भएर संसद् विघटन पनि गरेको दाबी गरेका छन् । ओलीले आफ्नै पार्टीका केही नेताको सत्ता लोभको कारण सरकार र पार्टीलाई बन्दी बनाउने काम भएको परिणाम स्वरूप आफूले नयाँ कदम चालेको ओलीको भनाइ छ ।

सरकारले राम्रा काम गर्दा गर्दै पनि षड्यन्त्रका जाल बुनेर खेद्ने प्रयास भएकोप्रति ओलीले आपत्ति जनाए । आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री ‌ओलीले संसद् विघटनको सिफारिस गरेका थिए । पार्टीभित्र विवाद बढिरहँदा र आफूलाई हटाउने तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गरेका हुन् । पार्टीभित्र सहमतिको प्रयास भइरहेको बेला प्रधानमन्त्री ओलीले अचानक यो निर्णय गरेका हुन् । 

प्रतिक्रिया