काठमाडौं, असार १३ : पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने देशभरका १ हजार ७ सय ७९ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तीमध्ये ४ सय ९४ वटा गाडी र १ हजार २ सय ८५ वटा मोटरसाइकल छन्। नियन्त्रणमा लिएका सवारी साधनलाई आवश्यक सोधपुछपश्चात् छोडिने गरिएको छ।
साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोइ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा २ सय ४९ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ। कार्यक्रमअन्तर्गत हालसम्म जम्मा ४ लाख ५९ हजार ७ सय ६१ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ।
कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने १ सय ७ जनालाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा १० हजार ७ सय रुपैयाँ जरिवाना गरिएको छ।
सो क्रममा २ हजार ३ सय २५ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ। साथै देशभर सञ्चालित माइकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ६८ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ४ हजार ७ सय २३ जनालाई सचेत गराइएको छ।
निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकायलगायत सरोकारवालासँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तीव्रता दिएको छ।