justnep single

नेकपा बैठकमा घम्साघम्सी

रबि धिताल

काठमाडाैं, १७ मंसिर :
बुधबार तय गरिएको सचिवालय बैठकमा ओली नजाने
स्थान : प्रधानमन्त्री निवास बालुवाटार
समय : दिउँसो १:१५ बजे
नेकपा सचिवालय बैठक
०००
सत्तारूढ दल नेकपाभित्रको विवाद मिल्ने होइन कि झन् तन्किने र झैझगडाको तहमै पुगेको छ। पार्टी एकतायताको सबैभन्दा तिक्ततापूर्ण बैठक मंगलबार सचिवालयमा भएको छ। बैठकको कार्यसूची तय गर्ने विषयमै दुई अध्यक्षबीच चर्काचर्की परेपछि माहोल घम्साघम्सीमा परिणत भएको सचिवालयका एक सदस्यले अन्नपूर्ण पोस्ट्लाई बताए।

अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २८ र प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले यही मंसिर १३ गते आआफ्ना प्रस्ताव राखेका थिए। तर, ती प्रस्ताव छलफलमा लैजाने/नलैजाने कार्यसूचीकै विषयमा चर्को विवाद सचिवालय बैठकमा भएको हो।

बैठकको सुरुमै प्रधानमन्त्री ओलीले महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलको ६२औं जन्मदिनको अवसर पारेर केक काट्ने र जन्मदिन मनाउने विशेष कार्यक्रम राखेका थिए। त्यसपछि केक काटेर नेताहरूले मुख मिठ्याएपछि बाझाबाझ गरेका थिए।
०००

ओली : बैठक सुरु गरौं। आज महासचिव कमरेडको जन्मदिन छ। उहाँ (पौडेल) आजबाट ६२ वर्षमा प्रवेश गर्नुभएको छ। मैले एउटा बर्थडेमा केक पार्टी राखेको छु। केक खाएर महासचिवको जन्मदिन मनाऔं। अनि सुरु गरौं।
(प्रधानमन्त्री ओलीले सुरुमै महासचिव पौडेलको ‘बर्थ डे विस’ गर्ने कार्यक्रम सुनाए। आफ्ना निजी सचिवालयका सहयोगीलाई केक ल्याउन अह्राए। केक आयो। महासचिवले केक काटे। प्रधानमन्त्रीदेखि अन्य नेताहरूले पौडेललाई जन्मदिनको शुभकामना पनि दिए।)

त्यसपछि सुरुमै प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष दाहालतर्फ हेर्दै भने, ‘बैठकको एजेन्डा के छन् ? प्रस्ताव के छन् ? ल सुरु गर्नुस् बैठक ?’

दाहाल : पार्टी अहिले गम्भीर संकट र जटिल मोडमा छ। तपाईंं (प्रधानमन्त्री) र मैले दुवैले आआफ्ना धारणाहरू, दृष्टिकोणहरू पार्टीभित्रको समस्या समाधानका लागि पेस गरेका छौं। बैठकमा सचिवालय सदस्यहरूले त्यसलाई गम्भीरतापूर्वक अध्ययन पनि गर्नुभएको छ। त्यही हो एजेन्डा। त्यही हो कार्यसूची।

त्यसमा सार्थक छलफल गरेर निष्कर्ष निकाल्ने हो। आजको छलफल त्यसैमा अगाडि बढ्छ। यसमा तपाईं के भन्न चाहनुहुन्छ ?

ओली : तपाईंंको त्यो प्रस्ताव होइन, बैठकले तयार गर्न जिम्मा दिएको पनि होइन। दुई अध्यक्षबीचको सल्लाह, सहमतिमा आएको पनि होइन। छलफल गर्ने हैसियतकै प्रस्ताव छैन तपाईंंको। यो गलत छ। यसमा तपाईंका कुण्ठा, असन्तोष, तपाईंका आरोप, अभियोग, लाञ्छना छन्। यसलाई पार्टीमा छलफलको लागि अगाडि बढाउने होइन कि यसले पार्टीको साख जनतामा गिराउने गरी आएको छ। तपाईंले सुनियोजित रूपमा ल्याएको, विखण्डन र विभाजनको आधार तयार पार्न ल्याएको हो। त्यसलाई फिर्ता गर्नुहोस्, क्षमायाचना गर्नुस्। अर्को कुरा, आफ्नो लाञ्छनापत्रको बुकलेट तपाईंले जुन पार्टी कार्यालयको नाम र लोगो दुरुपयोग गर्दै छाप्नुभएको छ, तल–तल पठाउनुभएको छ। लोगो प्रयोग गरेर केन्द्रीय कार्यालयको नाममा छाप्नुभएको छ।
त्यो पार्टीको विधान पद्धतिविपरीत छ। तपाईंले कहाँको निर्णयले छाप्नुभयो ? कसको निर्णयले छाप्नुभयो ? यो अनुशासनको उल्लंघन हो। यसमा तपाईंलाई कारबाही किन नगर्ने ? म यो सोध्न चाहन्छु। तपाईंले यसमा कारबाही भोग्नुपर्छ। यो तपाईंको निजी पार्टी होइन। निजी पार्टीमा पनि यसो गर्न मिल्दैन। तपाईंले विगतमा नेतृत्व गरेको पार्टी होइन, यो नेकपा हो। यसमा निर्णय गरेर मात्रै छाप्नुपर्छ। अर्कोतिर, सहमतिबाहेक अन्य कुरा सोच्न सकिन्न। विधि र पद्धतिका नाममा बहुमत/अल्पमत मान्न सकिन्न। टाउको गनेर गरिने निर्णय मान्य हुँदैन। त्यसो गर्न खोजियो भने त्यस्तो बैठकको काम पनि छैन।

दाहाल : तपाईंले उत्तेजित बनाउने ढंगले बोल्नुभएको छ। तर, हामी उत्तेजित हुनुहुँदैन। हामी शान्तसँग छलफल गरेर निष्कर्ष निकाल्ने पक्षमा छौं। सचिवालयको बैठक किन माग गरियो ? कर्णाली घटना घट्यो, वीरगन्जमा पार्टीकै साथीको हत्याका घटना घटे, कोभिड छलफल गर्नु थियो, भारतीय रअ प्रमुखलाई बालुवाटार बोलाएर भेट्नुभयो, पार्टी निर्णयसम्म कार्यान्वयन गर्नुभएन।

त्यसपछि बैठक बसौं भनेर पटकपटक माग गर्दा मान्नुभएन। हाम्रा निवासमा र हाम्रा पछाडि सीआईडी (सुराकी) छोड्नुभयो। त्यही भएर बाध्य भएर बैठकको अनुरोधको पत्र लेखियो। पत्रको जवाफ तपार्इंले आरोपबाट सुरु गर्नुभयो। फायर पहिले तपाईंले खोल्नुभयो। त्यसपछि जवाफ लेखेको हुँ। प्रस्ताव जे देखिएको हो, त्यही लेखेर ल्याएको हो। यो लाञ्छना हो या सत्य पार्टी कमिटीले भन्ने हो, तपाईंले होइन। अझ तपाईं को हो ? मैले ल्याएको प्रस्ताव फिर्ता हुनुपर्छ, छलफल हुन सक्दैन भन्ने ? किन हुन सक्दैन छलफल ? ….. दाहाल बोल्दै गर्दा ओलीले हस्तक्षेप गरे।

ओली : जे मन लाग्यो त्यही लेख्ने, जे मन लाग्यो, त्यही बोल्ने, यही हो तपाईंको सीमा ? सीमा मिच्दै हुनुहुन्छ तपाईं।

ओलीले दाहाललाई बोल्न रोक्न खोजे। त्यसपछि बैठकमा चर्काचर्की परिहाल्यो। अन्य नेता पनि बोल्न थाले। त्यसपछि दुई नेताका बीचमा घोचपेच चल्यो निक्कै बेर। ओलीले रुलिङ गर्न खोजे सीमामा रहनुपर्ने भन्दै। तर पनि दाहाल बोल्न रोकिएनन्।

दाहाल : यहाँ कसैले कसैलाई रुलिङ गर्न सक्दैन। सबै सचिवालय सदस्यको हैसियत बराबरी हो। कमिटीले जे भन्छ, त्यहीअनुसार अगाडि बढ्छ।

त्यसपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ बोले : तपाईं (ओली)ले बोलेका कुरा हामी सबैले सुन्नुपर्ने, अर्को अध्यक्षले बोल्नै नपाउने ? हामी सबैले बोल्न पाउनुपर्छ, बैठकमा। अरूले बोल्दै गर्दा रोक्ने ? सुन्ने धैर्य पनि छैन ? त्यसपछि वरिष्ठ नेता माधव नेपाल बोल्न तम्सिए।

नेपाल : सबैले बोल्न पाउनु पर्‍यो नि। यो तरिका के हो ?

वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतमले पनि सबैका कुरा सुन्नुपर्ने, सबैले बोल्न पाउनुपर्ने कुरा राखे। दाहाल त्यसपछि फेरि बोल्न थाले।

दाहाल : मलाई बोल्न नदिएको मात्र होइन्, यो एजेन्डामा छलफल गर्न पाइँदैन भन्नुभएको छ, केपी कमरेडले। यो पार्टी कमिटीले भन्ने कुरा हो। व्यक्तिले होइन। साथीहरू के भन्नुहुन्छ ?

दाहालले अन्य नेताहरूको साथ खोजे। त्यसपछि माधवकुमार नेपाल बोले, ‘छलफल गर्न किन नपाउने ? छलफल गर्नैपर्छ। बैठकमा आएका प्रस्तावहरूमा छलफल गरेर नै निकास निकाल्ने हो।’

झलनाथ खनालले भने, ‘सबै प्रस्तावमा छलफल गर्न पाउनुपर्छ। छलफल भइसक्यो। यो पार्टीको सम्पत्ति भइसक्यो। अब यसलाई छलफल गरेर निकास निकाल्ने हो।’ उपाध्यक्ष वामदेव गौतमले भने, ‘केपी कमरेडले पनि यो विषयमा छलफलमा भाग लिइसक्नुभयो। छलफल नगर्ने भन्ने हुँदैन। नारायणकाजी श्रेष्ठले छलफल गरिन्छ, निष्कर्ष निकालिन्छ, छलफल गर्न पाइँदैन भन्ने कुरा बेकारको कुरा हो भने।

उपप्रधानमन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलले भने, ‘कम्युनिस्ट पार्टीमा प्रस्तावमा छलफल गर्ने हुन्न भन्ने होइन। तर बैठकमा यसरी आरोप प्रत्यारोप गर्ने गरी प्रस्ताव ल्याउने कुरा कति ठीक हो भन्ने नेताहरूले बुझ्नुपर्छ। नेताहरूले छलफल गरेरै दुवै अध्यक्षले सहमति खोजी गर्ने गरी साझा प्रस्ताव कसरी ल्याउने, के ल्याउने भन्नेमा छलफल गरेर जाँदा राम्रो हुन्छ।

गृहमन्त्रीसमेत रहेका रामबहादुर थापाले पनि प्रस्ताव ल्याउने कुराको विरोध गरे। अनि भने, ‘प्रस्ताव यसरी ल्याउने कुराको म विरोधी हुँ। तर अब यसमा छलफल त सुरु भइसक्यो।’

महासचिव पौडेलले दुई अध्यक्ष मिलेर सहमतिमा प्रस्ताव ल्याउनुपर्नेतिर आफ्ना भनाइ राखे। ‘पार्टी सचिवालयमा आएका यी विषयहरूमा छलफल गर्ने, नगर्ने विषयमा म केही पनि बोल्दिनँ। तर, नेताहरूले यसो नगरेको भए हुन्थ्यो भन्ने मेरो कुरा हो। दुई अध्यक्ष फेरि पनि मिल्ने, सहमति खोज्नेतिर नै जानु राम्रो हुन्छ।’

एकसरो नेताहरूले बोलेपछि फेरि दाहाल बोल्न थाले।

दाहाल : सबै कमरेडलाई धन्यवाद। पार्टीमा आएका दुवै प्रस्तावमा अब छलफलबाटै निष्कर्ष निकाल्नुपर्छ। अन्तरसंघर्षलाई यो ठाउँमा पुर्‍याउने गरी फायर खोलेको केपी कमरेडले नै हो यसपटक। हामीले स्थायी समितिको निर्णय कार्यान्वयन नभएर बैठकको अनुरोध गरेर पत्र लेख्दा प्रत्युत्तर पत्र लेखेर लाञ्छना लगाएको होइन ? त्यसपछि हामीले त्यसको जवाफमा अर्को पत्र लेखेर प्रस्ताव तयार गर्नुपर्ने बाध्यता आइलागेको हो। यो मित्रतापूर्ण अन्तरविरोध हो, यसलाई शत्रुतापूर्ण बनाइरहनुभएको छ प्रधानमन्त्रीले। फुटको खेती गर्न खोजिरहनुभएको छ। तर पनि हामी फेरि छलफल गरेर एउटा निष्कर्ष निकालेरै जानुपर्छ।

खनाल : सहमति–सहमतिको माला पटकपटक किन जपेको ? दुनियाँमा कहीँ पनि यस्तो हुँदैन। भएसम्म सहमति स्वत: ‘अन्डरस्टुट’ हो। यसमा भन्नै पर्दैन। नभए, विधि पद्धतिमा गएर निर्णय हुन्छ। हाम्रो समस्याको जड नै त्यही हो। अब छलफल गरेर अगाडि बढ्ने हो।

गौतम : अनौपचारिक, औपचारिक दुवै खालका छलफल पनि गरौं। औपचारिक छलफल पनि गरौं, पार्टीको एकता बचाउने, संकटको समाधान खोज्ने गरी अगाडि जाऔं। छलफलबाटै एउटा निष्कर्षमा पुगौं।

नेपाल : यो मित्रतापूर्ण अन्तरविरोध नै हो। दुश्मनीपूर्ण हुँदै होइन। अन्तरविरोधलाई दुश्मनीपूर्ण बनाउने, त्यस्तो ठान्ने र पार्टी फुटाउँछु भन्ने को हो ? पार्टी कसले फुटाउँदो रहेछ हेरौं त ? पार्टी कसको सम्पत्ति हो ? पार्टी फुट्छ र पूर्वएमाले एकातिर, पूर्वमाओवादी अर्कातिर हुन्छ भन्ने कसैले नसोचे हुन्छ। रामकृष्ण अधिकारीले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया