नेपालमा ज्यान गुमाउने १८ सय नाघ्यो, कोरोनाको ‘नयाँ प्रजाति’ देखिएकाले सहजकता अपनाउन अनुरोध

admin

काठमाडौं, ८ पुस : बुधबार पाँच जनाको ज्यान गएसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १८ सय तीन पुगेको छ । यस्तै बितेको २४ घण्टामा नौ सय ५२ जना कोरोनामुक्त भएका छन् भने योसँगै अहिलेसम्म दुई लाख ४६ हजार ६ सय ६१ जनाले कोरोनालाई जितेका छन् ।

यसैगरी नेपालमा बितेको २४ घण्टामा सात सय ४३ संक्रमित थपिएसँगै संक्रमितको संख्या दुई लाख ५५ हजार नौ सय ७९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । छ हजार पाँच सय ५९ जनाको पीसीआर परीक्षण भएकोमा सात सय ४३ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार बुधबार काठमाडौं उपत्यकामा तीन सय १८ जना संक्रमित थपिएका छन् ।  काठमाडौंमा दुई सय ५० तथा भक्तपुर र ललितपुरमा ३४-३४ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यसैबीच सरकारले बेलायतमा कोरोना भाइरसको ‘नयाँ प्रजाति’ देखिएकाले त्यहाँबाट र त्यहाँको ट्रान्जिट बनाएर नेपाल आउनेलाई अनिवार्य १० दिन होटल क्वरेण्टीनमा बस्न आग्रह गरेको छ ।

नेपाल प्रवेश गरेको सातदेखि १० दिनभित्र अनिवार्य पीसीआर परीक्षण गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । बेलायत र त्यहाँको ट्रान्जिट बनाएर आएका व्यक्तिको निःशुल्क पीसीआर परीक्षण गर्न सबै सरकारी प्रयोगशालालाई मन्त्रालयले निर्देशन दिएको छ ।

प्रतिक्रिया