justnep single

नेपाल प्रवेश गर्ने नाकामा एन्टिजेन किटको अभाव, भारतबाट भित्रिएका सोझै गाउँमा

रबि धिताल

धनगढी, १९ वैशाख :  भारतमा देखिएको कोरोना कहरका कारण रोजगारीको सिलसिलामा त्यहाँ रहेका नेपालीहरु यतिबेला धमाधम घर फर्किरहेका छन् । भारतबाट नेपाल प्रवेश सुदूरपश्चिम प्रदेशका नाकाबाट फर्किने नेपालीहरूको संख्या बढिरहेका बेला कोरोना परीक्षणको लागि प्रयोग गरिँदै आएको एन्टिजेन किटको अभाव भएको छ ।

किट अभावमा भारतबाट फर्किएकाहरूको परीक्षण गर्न समस्या भएको छ । किट अभावका कारण सबैको परीक्षण नहुँदा कोरोना भाइरस संक्रमित यहाँका गाउँगाउँमा पुगेर स्थिति भयावह हुनसक्ने स्वास्थ्यकर्मीको भनाई छ ।

सुरूवातदेखिनै नाकामा कोरोना परीक्षणका लागि एन्टिजेन किटको अभाव हुँदै आएको छ । आफूहरुले बारम्बार सरोकारवाल निकायमा किटको माग गर्दा पनि पाउन नसकेको स्वास्थ्यकर्मीहरुले गुनासो गरे ।

भारतसँग सीमा जोडिएका यहाँका कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाका, तथा बैतडीको झुलाघाट नाका र दार्चुलाको कुलघाट नाका गरी दैनिक भण्डै तीन हजारको संख्यामा नेपालीहरू भित्रिरहेका छन् । तीमध्ये थोरैको मात्र कोरोना परीक्षण हुने गरेको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया