पार्टी धेरै दुःखले एकताबद्ध गरिएको हो, प्रधानमन्त्री ओलीले फुटाउने र व्यवस्थालाई विघटन गर्ने बाटो रोजे : दाहाल

admin

काठमाडौं, ११ फागुन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको शान्तिपूर्ण आन्दोलनबाट जसरी पनि जित्नुपर्ने बताएका छन् । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा ‘जनयुद्धको हस्ताक्षर’ नामक पुस्तक विमोचन कार्यक्रममा उनले प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतले सही फैसला गर्ने विश्वाससमेत व्यक्त गरे ।

उनले प्राप्त उपलब्धिको रक्षाका लागि प्रतिगमनविरुद्ध फेरि आन्दोलनमा उत्रिनुपरेको तर राज्य शक्तिको दुरुपयोग गरेर प्राप्त उपलब्धिलाई दबाउन खोजिएको आरोप लगाएका छन् । उनले भने, ‘पुस ५ गतेदेखि आज फागुन ११ गतेसम्म हामी नयाँ युद्ध लडिराखेका छौँ । देशव्यापी युद्ध चलिराखेको छ । तपाईँ हामी सबै युद्धमै छौँ । राज्यको शक्ति प्रयोग गरेर दबाउन बल गर्न खोजिँदैछ । हामी रक्तपातहीन युद्ध, शान्तिपूर्ण युद्ध, नयाँ प्रकारको युद्धमा छौँ ।’

धेरै दुःखले पार्टी एकताबद्ध गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले अहिले विभाजन गर्न ठूलो षड्यन्त्र भइराखेको बताए । आफूहरू एकताबद्ध भएर देशमा नयाँ आयाम ल्याउन खोजेको भए पनि प्रधानमन्त्री ओलीले पार्टीलाई फुटाउने र व्यवस्थालाई विघटन गर्ने बाटो रोजेको बताए ।

उनले भने, ‘पार्टी धेरै दुःखले एकताबद्ध गरिएको हो । धेरै मेहनत गरिएको हो । हामी सबैको समर्थन र योगदान त्यसमा छ । यसलाई विभाजन गर्ने निकै ठूलो षड्यन्त्र र कसरत अहिले भइ नै राखेको छ । भइ नै सक्या छ ।’

दाहालले २०५२ सालमा सशस्त्र द्वन्द्व सुरु गर्दा सबैभन्दा बढी पृथ्वीनारायण शाहले गरेका युद्धको रणनीति अध्ययन गरेर सुरु गरेको समेत बताए । सशस्त्र द्वन्द्व नै नेपालका लागि सबैभन्दा ठूलो परिघटना भएको दाबी गर्दै उनले देशलाई अगाडि बढाउन सशस्त्र द्वन्द्वले ठूलो उपलब्धि हासिल गरेको तर्क गरे ।

प्रतिक्रिया