justnep single

पोखरेललाई नै लुम्बिनी प्रदेशका मुख्यमन्त्री बनाउने एमाले संसदीय दलको निर्णय

admin

काठमाडौं, १९ बैशाख : लुम्बिनी प्रदेशमा शंकर पोखरेलकै नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ । प्रदेश संसदीय दलको बिहान बसेको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा एकल बहुमतीय सरकार बनाउने निर्णय गरेको एमाले रुपन्देहीका इञ्चार्ज दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

प्रदेश सचिवालयमा दर्ता भएको आफूविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्न आह्वान भएको विशेष अधिवेशन सुरु हुनु अगावै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन् । संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्री बन्नु भएका पोखरेलले धारा १६८ को १ बमोजिम सरकार बनाउनका लागि मार्ग प्रशस्त गर्न राजीनामा दिएको बताइएको छ ।

मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत गर्दै मौजुदा सरकारलाई अर्को सरकार नबन्दासम्मको लागि काम गर्न जिम्मेवारी दिएका छन् । ८७ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रका २ जना र जनता समाजवादी पार्टीका ४ जना सांसद पदमुक्त भएपछि ८१ सदस्यीय बनेको छ ।

प्रदेश सभाको अङ्क गणितमा एमाले एक्लैसँग बहुमत रहेको छ । कर्णाली प्रदेशमा जस्तै लुम्बिनी प्रदेशमा पनि पार्टीभित्रको असन्तुष्ट माधव नेपाल समूहका सदस्यले फ्लोर क्रस गर्न सक्ने सम्भावना देखिएकाले पोखरेलले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया