काठमाडौं, २६ पुस : नागरिक समाजका अगुवा डाक्टर देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले प्रतिनिधि सभा विघटन अलोकतान्त्रिक र निन्दनीय भएको बताएका छन् । आइतबार संयुक्त प्रेस विज्ञप्ति निकाल्दै उनीहरूले राष्ट्रपति पदको दुरुपयोग गर्दै प्रतिनिधि सभा विघटन गरिनुले लोकतन्त्र, शान्ति र समृद्धिका पक्षधर समस्त स्वाभिमानी नागरिकहरूलाई चिन्तित तुल्याएको बताएका हुन् ।
यस्तै पाण्डे र पहाडीले संसद विघटन गैरराजनीतिक, गैरसवैधानिक, जनआकांक्षा विरोधी कदम भएसँगै यसमा प्रतिगमनकै अंशसमेत देखिएको बताएका छन् । पार्टीको आन्तरिक किचलोलाई सम्बोधन गर्न स्वेच्छाचारी रूपमा गरिएको प्रतिनिधि सभा विघटन गैरराजनीतिक, गैरसंवैधानिक, जनआकाङ्क्षा विरोधी देश हित विपरीत छ, प्रतिगमनकै अंशसमेत देखिएको छ विज्ञप्तिमा भनिएको छ ।
डा. पाण्डे र पहाडीले यो कदम सच्याउँदै प्रतिनिधि सभा फेरि सुरु हुने व्यवस्था गर्न आह्वान गरेका छन् । पटक-पटकको आन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र, आधारभूत स्वतन्त्रता, मानव अधिकारलगायतका उपलब्धिहरूको रक्षा गर्न सबै एकजुट हुनुपर्ने उनीहरूले बताएका छन् । साथै उनीहरुले आफूलाई लोकतान्त्रिक मूल्य मान्यताको धरोहर दाबी गर्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सदाबहार ढुलमुले चरित्र थप चिन्ताको बिषय भएको उल्लेख गरेका छन् ।
भविष्यमा त्यस्ता गल्ति नदोहोर्याउने प्रतिबद्धतासहित सुशासनको प्रत्याभूति गर्न र सक्षम, सवल लोकतान्त्रिक प्रणालीको विकास र मुलुकको सर्वाङ्गीण उन्नतिका लागि मार्गचित्र तय गर्न प्रतिनिधिसभा भित्र र बाहिरका राजनीतिक शक्ति र नागरिक समाज एकजुट हुन उनीहरुले आह्वान गरेका छन् ।