काठमाडौं, १० पुस : प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमाथिको सुनुवाइका लागि संवैधानिक इजलास तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिह्ना र तेजबहादुर केसी सदस्य रहेको संवैधानिक इजलास तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।
संवैधानिक इजालसमा शुक्रबारदेखि नै सुनुवाइ सुरु हुनेछ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले सबै निवेदनलाई संवैधानिक इजलासमा पठाउने आदेश दिएको थियो । संसद् विघटनको विषय संविधानसम्बन्धी व्याख्या गर्नुपर्ने भएकाले संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित पाँच जना न्यायाधीशबाट सुनुवाइ हुन लागेको हो ।
संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनका क्रममा लिइएका आधार र त्यसको संवैधानिक धरातलको परीक्षण गर्नेछ । सरकारले संसद विघटन गर्दा संविधानको धारा ७६ र ८५ लाई आधार मानेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको आइतबार प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध नेकपाका प्रचण्ड-नेपाल समूहका सांसदसहितको १३ वटा रिट सर्वोच्चमा दर्ता भएको थियो ।