प्रधानमन्त्रीद्वारा नै कूटनीतिक मर्यादा उल्लङ्घन

रबि धिताल

काठमाडौँ, ७ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग कूटनीतिक मर्यादाविपरित भेट गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार राति बालुवाटारमा परराष्ट्र मन्त्रालयका अधिकारी र राष्ट्रिय अनुसन्धान विभागको प्रमुखलाई नराखीकन गोयलसँग भेटघाट गरी कूटनीतिक मर्यादा उल्लङ्घन गरेका हुन् ।

गुप्तचर प्रमुख अन्य सुरक्षा निकायभन्दा फरक प्रकृतिको अंग भएकाले त्यसका हरेक गतिविधिलाई शंकाको दृष्टिले हेर्नुपर्छ । प्रधानमन्त्री ओलीले शंका निवारणका लागि परराष्ट्र मन्त्रालयका अधिकारी र अनुसन्धान विभागका प्रमुखलाई भेटमा राख्नुपर्थ्यो । तर उनले त्यस्तो अवश्यकता ठानेनन् ।

परराष्ट्र मन्त्रालय र सुरक्षा निकायलाई समेत जानकारी नदिइकन रअ प्रमुखलाई प्रधानमन्त्रीसँग कसले भेट गरयो भन्ने प्रश्न पनि उठेको छ । काठमाडौँस्थित भारतीय दूतावास वा अन्य निकायले भेटघाटको व्यवस्थापन गरेको हो भने पनि त्यसको जानकारी नेपालको गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागलाई हुनुपर्थ्यो । तर, त्यसो भएन ।

विभागका अधिकारीहरुले यसबारे अनभिज्ञता प्रकट गरेका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले पनि यसबारे अनभिज्ञता प्रकट गरेकी छन् । यसबाट रअ प्रमुखलाई सीधै प्रधानमन्त्री निवास लगेर कुन निकाय वा व्यक्तिले भेट गराएको हो भन्ने प्रश्न उठेको छ ।

प्रतिक्रिया