काठमाडौं, ५ फगुन : प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि अदालतका सहयोगी अर्थात् एमिकस क्युरीका सदस्यले राय दिइरहेका छन् । बुधबार राय दिने एमिकस क्युरीका सदस्य सतिशकृष्ण खरेलले संसद् विघटन असंवैधानिक भएकाले पुनर्स्थापना हुनुपर्ने बताएका छन् । तर अर्का सदस्य विजयकान्त मैनालीले भने प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार रहेको दाबी गरेका छन् ।
एमिकस क्युरीका सदस्य मैनालीले अहिले नेपालले संसदीय प्रणाली अपनाएको र यो प्रणालीमा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार रहेको बताएका छन् । मैनालीले बेलायतलगायतका देशमा पनि प्रधानमन्त्रीले संसद् विघटन गर्ने उदाहरण दिएका छन् । तर मैनालीलाई न्यायाधीश सपना मल्ल प्रधानले नेपालको संविधानको भाषा हेर्ने कि विदेशका अभ्यास मात्रै हेर्ने हो ? भनेर प्रश्न सोधेका छन् ।
प्रधानले विगतका नजिर हेर्दा अहिलेको संविधानलाई न्याय हुन्छ कि हुँदैन ? भनेर पनि प्रश्न सोधेका छन् । एमिकस क्युरीका पाँच जना सदस्यमध्ये बद्रिबहादुर कार्कीले मंगलबार नै राय दिइ सकेका छन् । बुधबार सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले राय दिएका छन् । अब पूर्णमान शाक्य र गीत पाठकले राय दिनेछन् । त्यसपछि अदालतले प्रतिनिधि सभा विघटनविरुद्धका रिटको फैसला गर्नेछ ।