प्रधानमन्त्री ओली राष्ट्रिय हित विपरीतका गतिविधिमा लागेका छन् : दाहाल

admin

काठमाडौं, ३ बैशाख : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय हित विपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन् । शुक्रबार ‘वाग्मती प्रदेश कराँते च्याम्पियनशिप-२०२१’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीबाट देशलाई बन्धकी राख्ने तथा राष्ट्रिय हित विपरीतका गतिविधि गर्ने काम भएको आरोप लगाएका हुन् ।

प्रधानमन्त्री राष्ट्रिय हित विपरीतका गतिविधिमा संलग्न भएको खबरहरू आएको भन्दै उनले त्यस खबरले नेपालीको इज्जत, प्रतिष्ठा र राष्ट्रिय स्वाधीनतामाथि प्रश्न चिह्न खडा गर्ने दुस्साहस भएको बताए । नेपालीहरूलाई राष्ट्र हित विरोधी षड्यन्त्र स्वीकार नभएको पनि अध्यक्ष दाहालले बताए ।

उनले भने, ‘तानाशाही र निरङ्कुश शक्तिहरू एकचोटि परास्त भए तर तिनीहरू पूरै परास्त अझै भएका छैनन् । उनीहरूको कसरत, षड्यन्त्र नेपाल र नेपाली नागरिकका विरुद्ध चलिराखेको छ । देशलाई बन्धकी राख्ने, राष्ट्रिय हितका विपरीत गतिविधि गर्ने काममा स्वयम् सरकारका नेतृत्व गर्ने प्रमुखहरू नै लागेका खबरहरूले नेपाल र नेपाली नागरिकको इज्जत र प्रतिष्ठा, उनीहरूको आत्मसम्मान र राष्ट्रिय स्वाधीनतामाथि प्रश्न चिह्न खडा गर्ने दुस्साहस भएको छ । तर सचेत नेपाली नागरिक, स्वस्थ नेपाली नागरिक, बलिष्ठ नेपाली नागरिकलाई यी सबै षड्यन्त्र स्वीकार्य छैन ।’

अध्यक्ष दाहालले केही मानिसहरूले सङ्घीयतालाई खारेज गर्ने र पालिकालाई दिएको अधिकार खोस्ने सपना देखेको पनि बताए । तर परिवर्तनलाई उल्ट्याउने कुरा नेपाली नागरिकलाई मान्य नहुने उनले बताए । अध्यक्ष दाहालले आर्थिक विकास र समृद्धिका लागि खेल क्षेत्रको भूमिका र महत्त्व बढ्दै गएको पनि बताए ।

दाहालले भने, ‘अहिले पनि केही मानिसहरूले त्यस्तो सपना देख्छन् । सङ्घीयतालाई खारेज गर्ने, पालिकामा गएको अधिकारलाई खोसेर फेरि केन्द्रका केही सीमित व्यक्तिहरूको हातमा केन्द्रित गर्ने, समावेशिता र समानुपातिकतालाई उल्ट्याउन खोज्ने प्रवृत्ति देखा परेको छ । केही मुठ्ठीभर मान्छेहरूले षड्यन्त्रपूर्ण तरिकाले यसलाई उल्ट्याउन खोज्ने कुरा नेपाली नागरिकलाई मान्य छैन ।’

प्रतिक्रिया