काठमाडौं, ३ भाद्र : प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नवगठित नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएको छलफलमा मन्त्रिपरिषद्लाई पूर्णता दिने लगायत समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।
(हिजो) बुधबार सरकारले दल विभाजन गर्न सजिलो हुने गरि अध्यादेश ल्याएसँगै नेता नेपालले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । नयाँ दल दर्ता भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री देउवाको तयारी छ । कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएको एक महिना बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।
बुधबार मात्र नेकपा एमालेबाट छुट्टिएर नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका नेपालले देउवा र दाहालसँग सरकारमा सहभागिता तथा राजनीतिक दल विभाजन सहज हुनेगरी ल्याइएको अध्यादेशबारे छलफल गरेको बुझिएको छ । यसअघि माधव नेपाललाई सरकारमा सहभागी हुन देउवा र दाहालले आग्रह गर्दै आएका थिए ।