प्रभावकारी बन्दै ट्राफिक ‘भर्चुअल कक्षा’

राष्ट्रिय समाचार समिति

काठमाडौं, १० पुस : ट्राफिक प्रहरीले सञ्चालन गरेको भर्चुअल कक्षा प्रभावकारी बन्दै गएको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले गरेको बन्दाबन्दीपछि रोकिएको कक्षा ‘भर्चुअल’मार्फत सञ्चालन गरेपछि प्रभावकारी बन्दै गएको हो ।

लामो समयदेखि बग्गीखानामा लिइँदै आएको ट्राफिक सचेतनाकक्षा कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द भएको थियो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई मंसिर १६ देखि सुरु गरिएको ट्राफिक भर्चुअल कक्षामा तीन हजार ६८९ विद्यार्थीले ट्राफिक सचेतना कक्षा लिएको बताउँछन् ।

‘महाशाखामा सचेतना कक्षा सञ्चालन गर्दा कोभिड-१९ को जोखिम बढ्ने खतरा भएकाले भर्चुअलमार्फत सचेतना कक्षा सञ्चालन गरेका हौँ’ उनी भन्छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मादक पदार्थ सेवन गरी गाडी चलाउने चालक, लेन अनुशासन उल्लङ्घन गर्ने, रातो बत्तीमा ट्राफिक नियम उल्लङ्घन गर्ने गाडीका लागि कक्षा लिँदै आएको छ ।

यसअघि महाशाखाले मादक पदार्थ सेवन गरी सवारी चलाउने र लेन अनुशासनको पालना नगर्ने चालकलाई मात्र ट्राफिक कक्षा लिँदै आएको थियो । अहिले उपत्यकाका २५ ठाउँमा लाइटबाट ट्राफिक व्यवस्थापन हुँदै आएको छ । हालको प्रतिकूल अवस्थामा प्रविधिको प्रयोगमार्फत सचेतना कक्षा सञ्चालन बढी लाभदायक हुने र यसले आम चालकमा अनलाइन सचेतना कक्षा लिने बानीको विकास हुने महाशाखाको भनाइ छ ।

ट्राफिक प्रहरीले अहिले मध्याह्न १२ देखि १ः ०० बजेसम्म, दिउँसो १ः३० देखि २ः ३० सम्म र ३ः ०० देखि ४ः ०० बजेसम्म तीन कक्षा सञ्चालन गर्दै आएको छ । भर्चुअल कक्षा लिनका लागि विद्यार्थी तोकिएको समयभन्दा १० मिनेट अगाडि नै महाशाखाको आइडीमा जोडिनुपर्नेछ ।

प्रतिक्रिया