काठमाडौं, २९ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेपछि समर्थकहरुले नाराबाजी गरेका छन् ।
नेतृ झाक्रीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोली पक्राउ गर्न बानेश्वर पुगेपछि जम्मा भएका समर्थकहरुले नाराबाजी र प्रदर्शन गरेका हुन् । अहिले झाक्रीको निवासमा नाराबाजी भइरहेको छ भने सादा पोशाकका प्रहरी पनि छन् । ‘उनीहरुले प्रतिगमन मुर्दावाद, रामकुमारी झाक्री हाईहाई’भन्ने नारा लगाएका छन् ।
नेतृ झाँक्रीलाई पक्राउ गर्न प्रहरी पुगेपछि शंखमुल क्षेत्र तनावग्रस्त भएको छ । झाँक्रीको निवासमा प्रहरी पुगेको खबर आएलगत्तै नेकपाका कार्यकर्ताहरू शंखमुलस्थित झाँक्री निवास पुगेर प्रहरीविरुद्ध नाराबाजी गरेका हुन् । नाराबाजी एक घण्टादेखि जारी छ ।
उनीहरूले प्रधानमन्त्री र प्रहरी प्रशासनका विरुद्ध चर्का नाराबाजी गरिरहेका हुन् । महानगरीय अपराध महाशाखाले सोधपुछ गर्न भन्दै बोलाएपछि झाँक्री नगएपछि उनलाई पक्राउ गर्न प्रहरी पुर्जिसहित उनको निवासमै पुगेको हो । झाक्रीको पक्षमा समर्थकहरुको भीड लागेपछि प्रहरीले थप शक्ति पठाएको छ ।