काठमाडौं, २२ पुस : भारतका विभिन्न राज्यमा बर्ड फ्लुको संक्रमण पुष्टि भएसँगै सरकारले नेपाल-भारत सीमा क्षेत्रमा कडाइ गरेको छ । बर्ड फ्लु देखा परेका भारतका विभिन्न राज्यमा संक्रमण नियन्त्रणको प्रयास पनि सुरु भएको छ । भारतबाट आउने मासुजन्य सबै वस्तुलाई नेपाल प्रवेश गर्न निषेध गरिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।
बर्ड फ्लु देखिएका भारतका विभिन्न राज्यबाट स्वस्थ पशुपंक्षीसमेत ल्याउन रोक लगाईएको मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले जानकारी दिए । अनुसन्धानका लागि ल्याइने पशुपंक्षीहरु भने सम्बन्धित निकायको प्रमाणिकरण हेरेर मात्रै नेपाल भित्रन दिईने उनको भनाइ छ ।
यस्तै भारतमा देखिएको बर्ड फ्लु नेपाल प्रवेश गर्न नदिन सरकारी अधिकारीहरु छलफलमा जुटेका छन् । नेपालमा संक्रमण भित्रन नदिन के गर्ने भन्नेबारे छलफल सुरु भएको र आवश्यक निर्णय लिईने मन्त्रालयका प्रवक्ता घिमिरेले जानकारी दिए । नेपालमा बर्डफ्लु भित्रन नदिनेबारे दिउँसो २ बजे पशु सेवा विभागले पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारीसमेत गरेको छ ।
भारतका मध्य प्रदेश, केरला, हरियाणा, राजस्थान, हिमाञ्चल प्रदेश र झारखण्डमा बर्ड फ्लुका कारण कुखुरा तथा पुशपंक्षी मरेको पुष्टि भएसँगै उच्च सतर्कता अपनाउन लागिएको हो । बर्ड फ्लु देखिएको भारतका विभिन्न राज्यहरुमा कुखुरा, हाँस र माछा पसल खोल्नमा प्रतिबन्ध लगाईएको छ ।
भारतको हिमाञ्चल प्रदेशको पोङ् ड्येम क्षेत्रमा मात्रै २४ सय भन्दा धेरै पंक्षी बर्ड फ्लुका कारण मरेको हिमाञ्चल प्रदेशका बर्ड फ्लु विशेषज्ञ डा. विक्रम सिंहले बताएका छन् । उनले बर्ड फ्लुको संक्रमण थप फैलने भएकोले कुखुरा, हाँस र पशुपन्छीको मासु प्रयोगमा प्रतिवन्ध लगाउन आग्रह गरेका छन् ।