बल्ल चन्द्रविनायक पुनःनिर्माण शुरु

रबि धिताल

काठमाडौँ, १४ असोज: भूकम्पको साढे तीन वर्षपछि बल्ल पशुपति क्षेत्रस्थित चाबहिल गणेशस्थान पुनःनिर्माण गर्न थालिएको छ । चन्द्रविनायक नामले परिचित उक्त मन्दिरको दिक्षिणतर्फको भाग गत २०७२ वैशाख १२ को भूकम्पले क्षति पु¥याएको थियोे । मन्दिर कसले निर्माण गर्ने भन्ने विवाद र बजेटको अभावमा पुनःनिर्माणमा ढिलाइ भएको हो । श्वेतविनायक, रक्तविनायक, चाबहिल गणेश आदि नामले समेत चिनिने मन्दिर पशुपति क्षेत्र भित्र परेपनि मन्दिरको व्यवस्थापन तथा सञ्चालनका लागि दुई सामाजिक संस्था दर्ता भएका छन् ।

पशुपति क्षेत्र विकास कोषले मन्दिर क्षेत्रलाई बेवास्थागरेपछि श्री चन्द्रविनायक तथा श्री भैरवनाथ भजन मण्डल र श्री चन्द्रविनायक पार्क व्यवस्थापन समाज स्थापना भएका हुन् । चन्द्रविनायक मन्दिर क्षेत्रको सात रोपनी जग्गामध्ये हाल चार रोपनी छ । चार रोपनी जग्गामा १०४ टहरा बनाएर भाडामा लगाइएको छ । यसको भाडा उक्त समाजले उठाउँदै आएको छ । भाडामार्फत् मासिक रु एक लाख २८ हजार उठाउने गरिएको समाजका कार्यालय सचिव श्याम डङ्गोलले जानकारी दिनुभयो ।

“मन्दिर क्षेत्रको संरक्षणमा कोषलगायत कोही पनि नलागेपछि समाजको स्थापना गनुपरेको हो, स्थानीयवासी र सडकले मन्दिर क्षेत्रको तीन रोपनी जग्गा मिच्दा पनि कोही बोलेनन्” उहाँले भन्नुभयो, “कोषले पशुपतिनाथ जस्ता धेरै आयआर्जन हुने धार्मिक क्षेत्रमा मात्र चासो दिएको एकथरी स्थानीयवासीको गुनासो छ । मन्दिरको संरक्षण गर्ने भनी स्थापना भएका संस्थाले भूकम्पले क्षति पुगी ढल्ने अवस्थामा पुगेको मन्दिर पुनःनिर्माणमा चासो देखाएनन् । तीन वर्षसम्म कसले पुनःनिर्माण गर्ने भन्ने बहस भइरह्यो । बल्ल राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बजेट उपलब्ध गराएकाले कोषले ठेक्का गरी गत असार २४ गते सम्झौता गरेको थियोे ।

सम्झौतालगत्तै असार २९ गतेदेखि मन्दिर पुनःनिर्माण शुरु भएको हो पिआर कन्स्ट्रक्सन प्रालिसँग रु एक करोड ४३ लाख ४१ हजार १६८ को लागतमा विसं २०७६ असार २८ गतेसम्म मन्दिर बनाइसक्नुपर्ने सम्झौता गरिएको छ । मन्दिर दुई तले छानायुक्त नेपाली मण्डपशैलीमा बनाइने भएको छ । दक्षिणतिर मुख्यद्वार हुने मन्दिरभित्र नागको आसनमा बसेको अवस्थामा चन्द्रविनायकको प्रस्तर मूर्ति रहन्छ । मूर्तिमाथि बौद्ध चैत्य, चैत्यको तीनै मोहडामा बुद्धमूर्ति रहन्छ । पुरातत्व विभागका अधिकृत प्रकाश आचार्य पुरानै शैलीमा मन्दिर पुनःनिर्माण गरिने बताउनुभयो ।

मन्दिरको छानाका टुँडालमा अष्टमातृका, अष्टभैरव, तथा गणेशका मूर्ति कुँदिनेछन् । माथिल्लो छानामा सुन र तल्लोमा तामाको जलप लगाइने छ । मूल ढोकाको कलात्मक तोरणमा सुनको मोलम्बा लगाइन्छ । ढोकामाथिको तोरणमा काष्ठकलाका उत्कृष्ट नमूना प्रस्तुत गरिनेछ । गजुरमा पनि सुनको जलप लगाइनेछ ।

पुरातात्विक एवं सांस्कृतिक महत्व
नेपाल भाषामा ल्होँसल्ला गणेशसमेत भनिने यो मूर्ति लिच्छविकालीन अर्थात् छैठौँ शताब्दीतिरको हो । यहाँको गणेश मूर्ति भने उत्तर लिच्छविकालीन अर्थात् नवौँ दशौँ शताब्दीको रहेको मन्दिर पुनःनिर्माण समिति सदस्य राजु भारतीले जानकारी दिनुभयो ।

प्राचीन मूर्तिलाई सुरक्षित र व्यवस्थित रुपमा राजा अमर मल्लले मन्दिर बनाउनुभएको हो । विसं १५८६ देखि १६१९ को बीचमा मन्दिर बनेको विश्वास गरिन्छ । गणेश मन्दिरसँगै शिवलिङ्ग, सरस्वती, बूढानीलकण्ठ, नारायण, कुमारी, दक्षिणकाली, पञ्चबुद्ध, क्षेत्रपाल, बेताल, दोलखा भीमसेन, हनुमान आदि देवदेवीको प्रस्तर मूर्ति स्थापना गरिएको छ । बेतालको मूर्तिलाई नछोइकन दर्शन गर्नुपर्ने मान्यता छ ।

चन्द्रविनायकमा मङ्गलबार र शनिबार अलग्गै मूर्ति राखिन्छ । मङ्गलबार मूर्तिलाई पित्तलको पूर्ण कलेवर पहि¥याइन्छ । शनिबार चाँदीको मुखौटा लगाइन्छ । यो प्रक्रियालाई मन्दिरको विशेषताका रुपमा लिइने गरेको सदस्य भारतीले बताउनुभयो । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमादेखि मार्ग शीर्ष कृष्ण तृतीयासम्म मनाइने चन्द्रविनायक तथा भैरवनाथ जात्राका समयमा मूर्तिमा तामाको कलेवर लगाइन्छ । क्षमा पूजाका बेला पित्तलको कलेवर लगाइन्छ । गणेश मन्दिरभित्र रहेको स्तुप ९चिबहा० र बुद्धमूर्ति पनि छैठौँ शताब्दीकै भएको विश्वास गरिन्छ ।

धार्मिक तथा सामाजिक मान्यता
शरीरमा घाउ खटिरा र अन्य रोग भएकाले चन्द्रविनायकको भाकल गरी विधिपूर्वक पूजा आराधना गरेमा निको हुने मान्यता प्राचीनकालदेखि रहिआएको छ । सामान हराउनेले पनि चाबहिल गणेशलाई पुकारेमा पाइने विश्वास छ । परम्परागत वैद्यहरुले अध्ययनपछि यहाँ विशेष पूजा आराधना गरेरमात्र उपचार सेवा शुरु गर्ने चलन हालसम्म पनि रहेको स्थानीय वृद्ध जनकलाल श्रेष्ठले बताउनुभयो ।

यसैकारण चन्द्रविनायकलाई गुरु गणेश पनि भनिन्छ । कात्तिक शुक्ल पूर्णिमादेखि मार्ग शीर्ष कृष्ण तृतीयासम्म चाबहिल क्षेत्रमा लाग्ने यहाँको जात्राका बेला जगाइने धुनीमा ढाड सेकाउँदा कम्मरको दुखाइ र चिसोका कारण लाग्ने रोग पनि निको हुने विश्वासमा अहिले पनि धेरै भक्तजनको भीड लाग्छ । भैरवनाथको चार किल्लाभित्र बसोवास गर्नेलाई झाडापखाला नलाग्ने मान्यता छ । अन्य स्थानाका बासिन्दा पनि शरीरमा झाडापखाला नलागोस् भनेर यहाँ आइ पूजाअर्चना गर्छन् ।

नयाँ काम थाल्दा, विवाह, व्रतबन्ध जस्ता शुभ कार्य गर्दा, विदेश जानुअघि चन्द्रविनायकको पूजा एवं दर्शन गरेमा विघ्नबाधा नआइ काम सफल हुने जनधारणा छ । मन्दिरप्रतिको यही धारणाले प्रत्येक साताको मङ्गलबा र शनिबार एवं माघ महिनामा यहाँ विशेष भीड लाग्ने गर्छ । भूकम्पका कारण पूर्ण क्षति भएका देशभरका ७५३ सम्पदामध्ये १८५ को पुनःनिर्माण सम्पन्न भएको प्राधिकरणका पुरातत्व अधिकृत भीष्म बाँस्कोटाले जानकारी दिनुभयो ।

पशुपति क्षेत्रका १४ सम्पदा पुनःनिर्माण सम्पन्न भएका र २६ वटाको पुनःनिर्माण जारी रहेको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताउनुभयो । भूकम्पले पशुपति क्षेत्रका ९५ सम्पदा पूर्ण रुपमा क्षतिग्रस्त भएका थिए । विश्वरुपलगायत ठूला सम्पदा पुनःनिर्माणका लागि प्राधिकरणसँग सहकार्य भइरहेको उहाँले सुनाउनुभयो ।
-रासस

प्रतिक्रिया