justnep single

बाइडेनको कार्यकाल सुरु : सबै अमेरिकीलाई मास्क लगाउन आग्रह, ‘सय दिन मास्क लगाऔँ’ अभियान चलाउँदै

admin

एजेन्सी, १९ मंसिर : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको रूपमा आफ्नो पहिलो काम मास्कसम्बन्धी अभियान सञ्चालन गर्ने तयारी गरेका छन् । उनले आफ्नो कार्यकाल सुरु भएसँगै सबै अमेरिकीलाई मास्क लगाउन आह्वान गर्दै ‘सय दिन मास्क लगाऔँ’ अभियान चलाउने जानकारी दिएका हुन् ।

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसको महामारी फैलिन नदिनका लागि मास्क लगाउनु पर्ने मान्यताको विपक्षमा उभिँदै आएका छन् । राष्ट्रपतिमा नवनिर्वाचित बाइडेनले ट्रम्पको मान्यतालाई गलत साबित गर्ने गरी मास्कको प्रयोग गर्न प्रोत्साहन गर्ने अभियान ल्याउन लागेका हुन् ।

अमेरिकामा गएको नोभेम्बर ३ मा भएको चुनावमा पनि मास्कको प्रयोग गर्ने वा नगर्ने विषयमा नेताहरू विभाजित हुँदा यस विषयले राजनीतिक रूप लिएको थियो । मास्कको प्रयोगको विपक्षमा राष्ट्रपतिलगायतका व्यक्तिहरू नै लागेकाले अमेरिकामा कोरोनाको संक्रमण धेरै फैलिएको र धेरै मानवीय क्षति भएको टिप्पणी पनि हुँदै आएको छ ।

राष्ट्रपति ट्रम्पले मास्कको प्रयोग गर्न लगाएको भए महामारी न्यून हुने विश्वास र दाबी धेरैले गरेका छन् । अमेरिकामा कारोना भाइरसबाट संक्रमित भएकामध्ये अहिलेसम्म दुई लाख ७५ हजारभन्दा बढीको ज्यान गइसकेको छ । राष्ट्रपतिमा निर्वाचित बाइडेनले भने चुनाव अगाडिदेखि नै मास्कको प्रयोग सबैले गर्नुपर्नेमा जोड दिँदै आएका थिए ।

उनले महामारी नियन्त्रणका लागि मास्कको प्रयोग अति प्रभावकारी र उपयोगी हुने भएकाले आफ्नो प्रशासनले त्यसअनुसारको निर्णय र कार्यक्रमहरू ल्याउने बताएका छन् । मास्कको प्रयोगविना महामारी अन्त्य गर्न नसकिने भएकाले मास्कको प्रयोग बढाउन र सबैलाई त्यसका लागि प्रेरित गर्न उनले अभियान नै चलाउने तयारी गरेका हुन् ।

आफूले आउँदो जनवरी २० तारिखका दिन राष्ट्रपतिको जिम्मेवारी सम्हालेकै दिन मास्क प्रयोगका लागि सबैलाई आह्वान गर्ने र अभियान चलाउने सीएनएनसँगको कुराकानीका क्रममा बाइडेनले बताएका छन् । अमेरिकामा हरेक चार चार वर्षमा राष्ट्रपति चयनका लागि चुनाव हुने र त्यसपछि आउने जनवरी २० तारिखका दिन नवनिर्वाचित राष्ट्रपतिलाई ह्वाइट हाउस प्रवेश गराउने व्यवस्था रहेको छ ।

आउँदो जनवरी २० मा ह्वाइट हाउस प्रवेश गर्ने बाइडेनले भने, ‘मैले पदबहाली गरेका दिन सबै अमेरिकीहरूलाई मास्क प्रयोगका लागि अपिल गर्नेछु । यो नै मेरो पहिलो काम हुनेछ ।’ उनले मास्क प्रयोग गर्न आह्वान गर्ने अभियान सय दिनको मात्र हुने र त्यसपछि अनिवार्य नगरिने पनि स्पष्ट पारे । सय दिन सबै अमेरिकीले मास्क प्रयोग गरेमा महामारी धेरै न्यून हुने र यसले सहजता ल्याउने विश्वास पनि उनले व्यक्त गरे ।

प्रतिक्रिया