बिस वर्षमा बिसौँ सरकार बदलिदाँ नेपालीको अवस्था नबदलिनु सबैभन्दा दुःखद पक्ष: रविन्द्र मिश्र

admin

काठमाडौं, २३ चैत : विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले पछिल्लो समय विकसित राजनीतिले देश नै लज्जित हुनुपर्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन् । सोमबार पार्टीको सञ्चार तथा सूचना प्रविधि विभागको आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मिश्रले अहिले अघि बढिरहेको राजनीत अत्यन्त निन्दनीय र लज्जास्पद भएको टिप्पणी गरेका हुन् ।

अहिले भइरहेको गतिविधि देशको स्वाभिमानको हित विपरीत भएको उनले बताए । उनले भने, ‘अहिलेको स्थितिमा पनि राजनीति जुन किसिमबाट अगाडि बढिराखेको छ, त्यो अत्यन्त निन्दनीय छ, त्यो अत्यन्त लज्जास्पद छ । यो देशको स्वाभिमानको हित विपरीत छ, यो राष्ट्रहित विपरीत छ ।’

संविधानले तय गरे अनुरूप सु-संस्कृत रूपमा देशको सरकार परिवर्तन हुनुपर्छ भन्नेमा आफ्नो पार्टी दृढ रहेको पनि अध्यक्ष मिश्रले बताए । अहिले भइराखेको गतिविधि संविधानको विपरीत भइराखेको बताउँदै उनले दलहरूले संविधानको सम्मान गर्न सक्नुपर्ने बताए । त्यसबाट मात्रै सु–संस्कृत राजनीति स्थापित गर्न सकिने पनि बताए ।

मिश्रले नेपालको राजनीति विगत ७० वर्षदेखि नै धरमराईरहेको टिप्पणी समेत गरेका छन् । नेपालको लोकतन्त्रलाई संस्थागत गर्न ७० वर्षदेखि प्रयास भइरहेपनि अहिले पनि धरमराइरहेको स्थितिमा लोकतन्त्र रहेको उनले बताए ।

उनले भने, ‘७० वर्षदेखि नेपालको राजनीतिमा निरन्तर देखिएको समस्या भनेको भ्रष्ट्राचार हो, असक्षमता हो, सुशासनको अभाव हो, दुरदर्शिताको अभाव हो । यी सबै अभावका साथै समाजमा विद्यमान विभेद र सीमान्तकृतहरूले उपभोग गर्न पाउने अधिकारको अभाव फेरि आफ्नो ठाउँमा छ । ७० वर्ष भइसक्यो नेपालमा लोकतन्त्रलाई संस्थागत गर्नका लागि प्रयास भइराखेको । अहिले पनि हेर्ने हो भने लोकतन्त्र धरमराएकै स्थितिमा हो । त्यो संस्थागत भइसकेको स्थितिमा होइन । यो नेपाली राजनीतिको विडम्बना हो । नेपाल जस्तो देशमा यति लामो अवधिसम्म राजनीति बदलिनु, बारम्बार बदलिनु, २० वर्षमा बीसौँ सरकार बदलिनु तर आम नेपालीको अवस्था नबदलिनु सबैभन्दा दुःखद पक्ष हो ।’

उनले आफ्नो दलले देशभरका नागरिकको सामाजिक जीवनको अधिकार, मर्यादाको अधिकार, शिक्षा र स्वास्थ्यको अधिकार सुनिश्चित गर्न चाहेको पनि प्रष्ट पारे । यी विषय सुनिश्चित नहुँदासम्म नेपालको राजनीति अस्थिर रहने पनि उनले बताए । यस्तै देशभित्रै रोजगारी सिर्जना गर्नु चुनौतीपूर्ण विषय बनेको अध्यक्ष मिश्रले बताए ।

वैदेशिक रोजगारीका लागि सम्झौता हुँदा हात मिलाएर खुसी मनाउने मन्त्री र राजनीतिक दलबाट देशभित्रै रोजगारी सिर्जना गर्ने कुराको कल्पनासमेत गर्न नसकिने बताए । उनले भने, ‘रोजगारीको विषय यति महत्त्वपूर्ण छ । देशका नागरिक बेच्नमा हामी गर्व गर्छौँ । श्रम सम्झौता हुँदा हाँसी-हाँसीकन मन्त्रीले हात मिलाएको फोटोहरू हामी सबैले देख्न पाउँछौँ । त्यो त लज्जाको विषय हो नि ! देशको श्रमशक्ति बेचेर अनि त्यसमा खुसी मनाउने, त्यो होइन ।’

प्रतिक्रिया