बोक्सी भन्दै कुटपिट गरेको आरोपमा दुई जना पक्राउ

रबि धिताल

सप्तरी, १८ असोज: बोक्सी भन्दै कुटपिट गरेको आरोपमा घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । विष्णुपुर गाउँपालिका–३ बस्ने ५१ वर्षीया पारुल माली, सोही ठाउँकी ३३ वर्षीया अनुरागीदेवी मालिन र ३३ वर्षीया सुनितादेवी मालिनलाई बोक्सी भन्दै अमानवीय व्यवहार गरेको आरोपमा सोही ठाउँका ४५ वर्षीय सियाराम यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

आरोपित यादवसहित उनका परिवारका सदस्यले आफूहरुलाई बोक्सीको आरोप लगाई गाउँ निकालाको प्रयास गर्दै आएका पीडितले बताएका छन् । गत भदौ ३० गते बोक्सीको आरोप लगाई स्काभेटरले घर भत्काएर गाउँ निकालाको प्रयास गरेको पीडित अनुरागीदेवीले बताउनुभयो । पक्राउ परेका यादवले जग्गा विवादमा आपसमा भएको झगडालाई अर्कै रुप दिई झुठा उजुरी दर्ता गरिएको बताउनुभयो ।

यस्तै बोक्सी भन्दै अमानवीय व्यवहार गरेको आरोपमा हनुमाननगर कङ्कालिनी नगरपालिका–११ का २८ वर्षीय प्रमोद पण्डितलाई प्रहरीले पक्राउ गरेको छ । बोक्सी भन्दै गत भदौ १३ गते सोही ठाउँ बस्ने शान्तिदेवी मण्डललाई अमानवीय व्यवहार गरेको आरोपमा पण्डित पक्राउ परेका हुन् । आरोपित पण्डितका बुबा विष्णुदेव पण्डित हालसम्म पक्राउ परेका छैनन् ।
-रासस

प्रतिक्रिया