भक्तपुरको च्याम्हासिंह-नाला सडकको कालोपत्रे तीन दिनमै उप्कियो

admin

भक्तपुर : अरनिको राजमार्गअन्तर्गत भक्तपुर-बनेपा खण्डको बैकल्पिक सडकका रुपमा रहेको च्याम्हासिंह–ताथली–नाला सडकमा गरिएको कालोपत्रे तीन दिनमै उप्किएको छ। खाल्डाखुल्डी परेर जीर्ण बनेपछि डिभिजन सडक कार्यालय भक्तपुरले सडक मर्मत गरिरहेको छ।

मर्मतका लागि ब्राइट तेज स्लेट जेभीले करिब तीन करोड रुपैयाँमा ठेक्का पाएको छ। ठेकेदार र सडक विभागबाट खटिएका इञ्जिनियरको लापरवाहीले गुणस्तरहीन काम भएको स्थानीयको आरोप छ।

स्थानीयका अनुसार केही महिनाअघि चिसो मौसमका कारण सडकको स्तरोन्नतिको काम रोकिएको थियो। गर्मी लागेपछि काम सुरु गरे पनि गुणस्तरहीन सामग्री प्रयोग गरिकएकाले तीन दिनमै कालोपत्रे उप्किन थालेको स्थानीयको आरोप छ।

सडक विभागमा इन्जिनियर मेघबहादुर केसीले कालोपत्रे उप्किएको नभई कालोपत्रे राम्रोसँग सेट नहुँदै ठूला गाडी चलाइएकाले केही स्थानमा लच्किएको दाबी गरे। उनले भने, ‘काम कमसल भएको होइन। कालोपत्रे गरेको २४ घण्टा सेट हुन लाग्छ। कालोपत्रे सेट नहुँदै हेभी टिपर चलेका कारण लच्किएको हो।’

उनले कालोपत्रेमा सबै मापदण्ड पूरा गरेको दावी समेत गरे। ‘काम गुणस्तरीय हुनुपर्छ भन्नेमा हामी पनि सचेत छौं,’ उनले भने, ‘त्यो पिचमा मापदण्ड सबै पूरा छ, सेमिग्राउन्ड गर्‍या छ।’ इन्जिनियर केसीले त्यस्तो समस्या एक/दुई ठाँउ देखिएको भन्दै त्यसलाई पुनः बेसबाटै २० मिटर अघिपछि खोलेर काम गरेको बताए।

ठेकेदार तेजबहादुर लामाले कमजोरी र समस्या देखिएको स्वीकारेका छन्। आफूहरु कामबाट कतै नभागेको र त्यस्तो समस्या देखिए त्यसलाई सुधार्ने उनले प्रतिवद्धता जनाए।

यद्यपि‚ लामाले ढुंगा, गिट्टी, बालुवालगायत पिचका लागि आवश्यक सामग्री नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप नै राखेको दाबी गरे। ‘हामीले सम्पूर्ण मापदण्ड पूरा गरेरै काम गरेका छौं‚’ उनले भने, ‘प्राविधिक फाँटको कुरा सडक विभागको इन्जिनियर सावलाई थाहा होला। उहाँहरुले भने तोके बमोजिमको हामीले काम गरेका छौं। कमजोरी भए सुधार्न तयार छौं।’

ठेकेदार लामाले स्थानीय जनप्रतिनिधिहरुले आफ्नो कर्तव्य पूरा नगर्दा टिपरहरु रोक्न नसकिएको बताए। ‘टिपर गुड्न रोक्न स्थानीय सरकारले ध्यान दिएन। पास भन्दै भर्खैरै पिच गरेको सडकमा टिपर हुईकिन्छन्‚’ उनले भने‚ ‘पिच गरेको बस्न नपाउँदा सडक उप्किने समस्या आएको हुनसक्छ। तर म कहीँ भागेको छैन। काम गर्दा गल्ती भए सुधार्न तयार छु।’

पिच गुणस्तरहीन भएको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सडकको कामलाई गुणस्तरीय बनाउन र मनपरि गर्नेलाई कारबाही गर्न डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशलाई निर्देशन दिएका छन्। प्रजिअको निर्देशनपछि कैफियत देखिएको सडक सुधार्ने काम अघि बढेको सडक कार्यालयले जनाएको छ।

प्रतिक्रिया