भक्तपुर : भक्तपुरको ताथली–नाला सडकमा गरिएको कालोपत्र केही दिनमै चिरा परेको छ । ठेकेदार कम्पनीको लापर्बाहीका कारण सडक चिरा परेको स्थानीयबासिन्दाले गुनासो गरेका छन् । कालोपत्र नै चिरा पर्न थालेपछि फेरि पनि धुलोको मार खेप्नुपरेकाे भन्दै स्थानीयबासीले गुनासो गरेका चाँगुनारायण नगरपालिका ९ का वडाध्यक्ष गणेश त्यातले जानकारी दिनुभयो ।
यो सडक कालोपत्रको काम ब्राइट तेज स्लेट जेभीले ठेक्का पाएको थियो । भक्तपुरको चाँगुनारायण नगरपालिका ९ मा पर्ने यो सडकखण्ड अरनिको राजमार्गको वैकल्पिक सडकको रूपमा रहँदै आएको छ । च्याम्हासिंह–ताथली–नाला सडकअन्तर्गत फैढोकाको पाँगो खानीदेखि चोकन्तिला सडक खण्डका ठाउँ–ठाउँमा गरिएको कालोपत्र बिग्रन थालेको हो ।
वडाध्यक्ष त्यातका अनुसार सडक डिभिजन कार्यालय भक्तपुरले सडक निर्माणको जिम्मा ठेकेदार कम्पनीलाई दिएको हो । ‘कहिलेकाहीँ अनुगमन गर्नेबाहेक अरू जिम्मेवारी वडाको हुँदैन’, उहाँले भन्नुभयो,‘जे सुकै भए पनि यति छिट्टै नबिग्रनुपर्ने हो । कमसल सामग्रीको प्रयोग र लापर्बाहीकै कारण यस्तो भएको हो ।’
कालोपत्रअन्तर्गत गरेको प्रिमिक्स पिच गतिलो नहुँदा छिट्टै बिग्रिएको र देखाउनका लागि मात्र काम गरिएको उहाँको भनाइ छ । पिचअन्तर्गत चोकन्तिलाबाट ताथली आउने क्रममा साखः मेटल इण्डस्ट्रिजसँगैको मोड चिरा–चिरा पर्न थालेको छ । केही दिन अगाडि मात्र गरिएको पिचमा तीन वटा औँला छिर्ने चिरा परिसकेको छ ।
यसैगरी त्यही सडक खण्डअन्तर्गतको पाँगो खानीमा पनि चिरा–चिरा देखिन थालेको छ । पाँगो खानीको सडकको भागमा चिरा देखिन थालेपछि ठेकेदार कम्पनीले हतार–हतार पिचलाई उप्काएर टालटुलको काम थालेको वडाअध्यक्ष त्यातले बताउनुभयो । अरू ठाउँमा भने भत्किएको पिच यत्तिकै छ ।