justnep single

भागदौडका क्रममा ३१ को मृत्यु, १०० घाइते

राष्ट्रिय समाचार समिति

बग्दाद, २५ भदौ : इराकमा भएको एउटा भागदौडको घटनामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ । शिया मुस्लीम धर्मावलम्बीहरूको धार्मिक कार्यक्रममा भएको भागदौडका क्रममा अरू सय जना घाइते भएको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।

इराकी स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले घाइते भएका मध्ये दश जनाको अवस्था गम्भीर रहेको जनाएका छन् । धार्मिक कार्यक्रम भइरहेका बेला मध्याह्नको समयमा भागदौड भएको थियो ।

इमाम हुसेनको समाधिस्थलमा प्रवेश गर्ने बेलामा हजारौँ धर्मावलम्बी एकैपटक छिर्न खोज्दा समस्या भएको बताइएको छ । शिया मुश्लीम धर्मावलम्बीहरूले हरेक वर्ष हुसेनको वार्षिकी मनाउने गर्दछन् ।

घटनामा परी घाइते भएका मध्ये केहीको छातीमा र केहीको टाउकोमा चोट लागेको चिकित्सकहरूले बताएका छन् । पछिल्लो दश दिनमा ४० लाख शिया धर्मावलम्बीहरू देशका विभिन्न ठाउँबाट कार्बालामा आएका छन् । त्यहाँ आउनेहरू कतिपय देश बाहिरका समेत रहेको जनाइएको छ ।

प्रतिक्रिया