भुत्ते राष्ट्रवादले जन्माएको लुते तानाशाह

रबि धिताल
  • स्वागत नेपाल

संसारभरि जहिले पनि जहाँ पनि भुत्ते राष्ट्रवादले कि लुते तानाशाह जन्माउँछ कि जनतामा निरासा र वितृष्णा जन्माउँछ। त्यो तानाशाह लुते भएको कारणले पराजित हुन्छ, किनकि जन्म नै भुत्ते राष्ट्रवादबाट भएको हुन्छ। सच्चा राष्ट्रवादले शक्तिशाली तानाशाहको उदय गराउँछ, त्यो राष्ट्रवादका जार्गन छर्दै जनतालाई भ्रमित पारेर होइन कि जनताको तहबाटै आएको हुन्छ।

त्यसैले, भुत्ते राष्ट्रवादबाट जन्मिएको लुते तानाशाहबाट जनआकांक्षा पूरा हुन नसकेपछि जन्मिएको निरासा र वितृष्णाका कारण फेरि कि भीडतन्त्र जन्मिन्छ कि स्पष्ट विचारसहितको वौद्धिक विद्रोह जन्मिन्छ। भीडतन्त्रले अमुक अमुक ‘हिरोइजम’ स्थापित गर्छ।

समस्या निदानको दीर्घकालीन विचारसहित होइन कि सरकारले केही गर्न नसकेकोले जनतामा उब्जिएको रिस फेर्न तत्कालको समाधान खोज्छ। अनि केही एजेण्डाहरुसँगै केही समयपछि विलाएर जान्छ। सँगै जन्मिएको वौद्धिक र संगठित विद्रोहले सुसुप्त रुपमा बन्दै गरेको नयाँ विचारसहितको समाधान लिएर आउँछ।

तर त्यो वौद्धिक विद्रोह सुस्तरी हुने भएकोले त्यसपूर्व केही समय भीडले गलत कुराहरुलाई पनि सत्य भनेर स्थपित गर्न प्रयास गर्छ। अदालत पनि त्यसैको छायाँमा पर्छ। सरकारबाट विश्वास र सुरक्षा नपाएपछि पत्रकारले प्रहरीको काम गर्न थाल्छ। अनि प्रहरीले सिनेमाको हिरोजस्तो बनेर फेक इन्काउन्टरहरु पनि गर्न थाल्छ। प*क्राउ गर्न नपर्नेलाई प*क्राउ गर्छ, प*क्राउ गर्नै पर्नेलाई प*क्राउ गर्न सक्ने अवस्था हुँदाहुँदै इ*न्काउन्टर गरिदिन्छ।

स्यावासी पनि पाउँछ र प्रोमोसन पनि हुन्छ। कानुन हातमा लिने भीड, प्र*हरी बन्ने पत्रकार, हप्ता असुल्ने र काटमारमा उत्रने गुण्डा नै किन नहोस् : यी सबै लुते तानाशाहका कारण जन्मछन्। समाज विचारक लेखक सामाजिक अभियन्ताले केही भन्दैन, किनकि राज्यको अकर्मण्यताबाट सबै आजित भएका हुन्छन्। फेक इ*न्काउन्टर गर्ने प्र*हरीदेखि आफैँंलाई प्र*हरीसमान बनाउन देखाउन खोज्ने पत्रकारहरू किन पैदा हुन्छन्‌? किनकी सबैसामू आफूलाई शक्तिशाली देखाउन शासकले आदेश-निर्देशको भरमा शासन चलाउन खोज्छ, तर असफल हुन्छ।

शासक असफल हुने, तर कुर्सीमै टाँसिइरहने भएपछि उही फेक इ*न्काउन्टरवाला प्र*हरी र प्र*हरी बन्न खोज्ने पत्रकार निस्कन्छन्‌। यहाँ आदेशको भरमा शासन चलाउने हुकुमीतन्त्र अर्थात् अध्यादेशराज, अर्को शब्दमा ‘डिक्रीक्रेसी’ले मुलुक चलाउन सक्छु भन्ने भ्रम पाल्छन्‌, तर सो भ्रममा आफैँं जाकिन पुग्छन्‌। लुते तानाशाहीपन नेपालमा अहिले ठ्याक्कै यस्तै छ। डिक्रीकेसी सुरू गर्न खोज्दा ओलीको तानाशाहीपन अन्त्य हुन लागेको छ।

इतिहासमा केपी ओली आफूले आफैँलाई सबैभन्दा शक्तिशाली प्रधानमन्त्री भन्ने भ्रम पालिरहे। उनका आसेपासेले ‘हो’ मा ‘हो’ मिलाइरहे। अनि उनलाई ओह्रालो लगाइरहे। इतिहासमा एकपटक मात्रै यस्तो समय आयो : जहाँ एउटै व्यक्ति एकै पटक सरकार प्रमुख पनि राष्ट्र प्रमुख पनि बनेका थिए। उनी थिए गिरिजा प्रसाद कोइराला। जो राजा हटाइसकेपछि राष्ट्रपति पनि निश्चित नभइसकेको अवस्थामा आफैँ प्रधानमन्त्री र राष्ट्र प्रमुख बनेका थिए।

तर पछिल्लोपटक ओलीले आफूलाई कोइराला भन्दा पनि शक्तिशाली ठान्न थालिसकेका थिए। सबैले दुई तिहाइको शक्तिशाली प्रधानमन्त्री भन्दा भन्दै। उनले निर्णयहरु पनि त्यस्तै गरिरहेका पनि छन्। एक दशकअगाडि लोकतन्त्रलाई बलियो बनाउनु छ भने जनतालाई ‘राइट टु रिजेक्ट’को अधिकार दिनुपर्छ भनेर माग गरेर म समेतले दायर गरेको रिटमा त्यस्तो कानुन बनाउनु भनेर सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिएकोमा पनि अटेर गरेर, त्यो कानुन नै नबनाएर, अझ अध्यादेश चाहिँ ल्याएर व्यवस्था होइन : सरकार चाहिँ बलियो बनाउन लागेपछि प्रधानमन्त्री चाहिँ बलियो कसरी हुन्छ?

अति-शक्तिशाली मानिएका, आफैँले आफैँलाई शक्तिशाली ठानेका प्रधानमन्त्री केपी ओली इतिहासमै सबैभन्दा कमजोर र निरीह प्रधामन्त्री देखिएका छन्। यस्तो किन हुन्छ। विश्वमा यससम्बन्धि विश्लेषणहरु कसरी गरिन्छन्? वास्तवमा नेता वा शासक शक्तिशाली र बलियो कसरी हुन्छ? प्रसंग भारतको सन् १९६५ अगस्त १३ को दिन थियो।

भारतीय प्रधानमन्त्री लाल बहादुर शास्त्रीसामू तीन जना सैनिक अधिकारीहरु आएर सुनाए – १०० वटा ट्याङ्कसहित पाकिस्तानी सेनाको समूह जम्बुको चाम्ब क्षेत्रस्थित अन्तरार्ष्ट्रिय सीमा ‘क्रस’ गरिसकेको छ। लाल बहादुर शास्त्रीले तत्कालै लाहोरको समाविष्ट क्षेत्रबाटै नयाँ सैन्य फ्रन्ट खोल्न आदेश दिइहाले र एउटा ऐतिहासिक बैठक बोलाए। त्यो ऐतिहासिक बैठक पाँच मिनेटभन्दा कम समयमा सकिएको थियो, तर सम्भवत: इतिहासकै प्रभावकारी र छोटो बैठक।

हामीकहाँका ऐतिहासिक बैठकहरू चाहिँ सुरू नभइकन सूचना टाँस गरेर सार्ने र सभामुखले बोल्न सुरू गर्ने गरेको पाँच मिनेट नभई सकिने खालका हुन्छन्‌। भारतका सबैभन्दा प्रभावशाली र सफल अनि शक्तिशाली प्रधानमन्त्री को हुन् अनि सबैभन्दा कमजोरचाहिँ को? यो प्रश्नमाथि विश्लेषकह र भारतीय अनलाइन आदि जस्ता माध्यममा छलफल चलिरहन्छन्।

धेरैले हालसम्मका सबैभन्दा प्रभावशाली र दह्रा प्रधानमन्त्री लालबहादुर शास्त्री नै हुन् भनेर त्यही बैठक र निर्णयलाई आफ्नो आधार बनाएका छन्। विश्लेषक र पेशेवर टिप्पणीकर्ताहरुले पनि लालबहादुर शास्त्रीलाई ‘ए प्राइम मिनिस्टर विथ नो मनी’ अर्थात् ‘पैसा बिनाका प्रधानमन्त्री’ भनेका छन्। उनीहरुले त्यसबेला प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय प्रतिक्रियाहरुलाई पनि नपर्खिकन निर्याय गरेका कुराहरुलाई यतिबेला झल्झली सम्झिएको उल्लेख गरेका छन्।

शास्त्रीको निर्णयलगत्तै सञ्चारमाध्यममा लाहोर क्षेत्रमा भारतीय सैनिक छ्याप्छप्ती भन्ने समाचार फैलिसकेको थियो। त्यसको दशौँ दिनमा शास्त्रीले स्वतन्त्रता दिवसको दिवसको समारोहको रातो मञ्चमा उभिएर ‘हथियारों को जवाव हथियारों से देंगे’ र ‘ हमारा देश रहेगा तो हमारा तिरंगा रहेगा’ भनेका थिए। उनले ती दुवै वाक्यलाई अन्तर्राष्ट्रिय जगतलाई स्पष्ट पार्न अंग्रेजीमा समेत भनेका थिए ‘फोर्स विल बि मिट विथ फोर्स’, ‘आवर फ्ल्याग विल सर्भाइभ अन्ली इफ कन्ट्री डज’ भनेका थिए।

यो सन्दर्भ भाषाभन्दा त्यसको प्रयोगको अर्थ कति आवश्यक भन्ने थियो। कतिले सकिनसकि विदेशी भाषा प्रयोग गर्नुमा विरोध गरेका बेला उनले त्यसको औचित्य राम्रोसँग पुष्टि गरेका थिए। त्यसो त भारतीयहरु अंग्रेजलाई विरोध गरेको बुझाउन पनि सुरूमै अंग्रेजीमा पत्रिका निकाल्नु परेको र पाकिस्तानीहरुले पनि ‘द डन’ पत्रिका सुरूमै विदेशीलाई आफ्ना कुरा सम्झाउन अंग्रेजीमै अभ्यास गर्नु परेको इतिहास भएका कारण उनीहरु भाषाभन्दा भावलाई बढी ध्यान दिन्छन् भन्ने मानिन्छ। त्यसैले त्यहाँ नजानेर भन्दा जानेर गल्तीका अभ्यासहरु बढी हुने गरेका छन्। वर्तमान सन्दर्भमा फेरि जाऔँ, शास्त्री सोही कारणले नै हालसम्म सबैभन्दा दह्रा प्रधानमन्त्रीमा दरिएका छन्।

अर्को सन्दर्भमा बुझ्ने हो भने समय अनुसार पनि हुन्छ बलियो र दह्रोको मापदण्ड। यो तुजुक देखाउने बेला होइन, त्यो तुजुकले चल्ने समय थियो। तर तुजुकले चल्दैन भनेर वर्षौंसम्म एउटै विषयको बैठक बसिरहनु, लामो छलफल गर्नुपर्ने विषयहरु, जस्तै संघीयतामा जाने लगायतका विषयमा चाहिँ रातारात सभासदलाई नै थाहा नभई तत्काल निर्णयमा पुग्नु र तत्कालै गरिहाल्न सकिने विषय चाहिँ कहिल्यै छिनोफानो नगर्ने नियत देख्दा मुस्लीले धान ओखलमा कुटेझैँ तिनका मथिंगलमा ढुटो हुञ्जेल हानेर विचार गर्नु र्ने जस्तो लाग्छ होला भुक्तभोगी नागरिकहरुलाई।

सबैभन्दा कमजोर प्रधानमन्त्री चाहिँ भारतमा को? भन्ने प्रश्नमा प्रधानमन्त्री मनमोहन सिंह भन्नेको संख्या पनि धेरै छ। मनमोहनलाई कमजोर भन्नुका पछाडि उनले सन्‌ २०११ जुलाई १५ मा दिएको भाषणलाई धेरैले आधार बनाएका छन्। जहाँ उनले भनेका थिए ‘धेरै भारतीयहरु सरकारसँग किन सुरक्षा नदिएको भनेर रिसाएका छन्। भारतीय अधिकारीहरु भन्छन् उनीहरुले सुरक्षा प्रबन्ध मिलाएका छन् र आतंक र अपराध कहिल्यै उन्मुलन गर्न सकिँदैन हुन पनि त्यो दुवै कुरा सही हो। हामीले प्रयास चाहिँ कायम राख्नुपर्छ।’

न्यूयोर्क टाइम्सले पनि यो भनाइलाई जस्ताको तस्तै आफ्नो सम्पादकीयको शिरमै राख्दै विशेष महत्व दिएर उनको सरकारको कमजोरीको टिप्पणी समेत गरेको थियो। भारतीय जनता पार्टीका नेता लालकृष्ण आडवाणीले आफैँले पनि यति धेरै निराशावादी शब्द प्रयोग गर्ने नेता कहिल्यै सफल हुँदैन भन्दै मनमोहन सिंहलाई सबैभन्दा कमजोर प्रधानमन्त्री भनेका थिए। अहिलेको समयमा सम्मानित सार्वभौमसत्ता सम्पन्न जनता नेताजस्तो बोलिरहँदैन होला। तर एकदमै सुक्ष्म ढंगले नेताका गतिविधि, विचारको व्यवहारिक अनुवादलाई नियालिरहेको हुन्छ र निर्णय निकालिरहेको हुन्छ।

को कहाँ कमजोर र बलियो छ बुझिरहेको हुन्छ। यो मुद्दामा पनि त्यस्तै देखिएको छ ट: जब सामान्यभन्दा सामान्य ठानिएका जनताले प्रधानमन्त्रीको भाषणमा प्रतिक्रिया दिए। ती विचारहरु त बिबिसी र सिएनएनमा पो सुनिए कि हाम्रा बर्तमान प्रधानमन्त्री हालसम्मकै सबैभन्दा कमजोर प्रधानमन्त्री हुन्। अमेरिकाको कुरा प्राय: अमेरिकी रेडियो टिभी बिबिसी, सिएनएन, फक्स न्यूज, स्काइ न्यु र एनपीआरमा प्रशस्तै देखिने/सुनिने वाशिंगटनस्थित विदेश मामिला विश्लेषक तथा राजनीतिक टिप्पणीकार नील गार्डिनरले अमेरिकीकामा हालसम्म युद्धकालका लागि सबैभन्दा कमजोर राष्ट्रपति बाराक हुसेन ओबामा हुन् भनेका थिए।

गुगल सर्चले संसारको टप टेन अपराधी सरकार प्रमुखमा भारतका बर्तमान प्रधामन्त्री नरेन्द्र मोदीलाई देखाएको छ। यद्यपी; भारतीय दबाबपछि गुगलले सो बारे माफी नै भागेको समाचाहरू प्रकाशित पनि भएका छन्‌। पछिल्लो समय धेरै शक्तिशाली प्रधानमन्त्री हार्ड एण्ड फास्ट निर्णय लिने कारणले हो भन्ने प्यारामिटरका आधारमा थियो। तर, त्यही कारणले उनले बिमुद्रीकरण (डिमोनिटाइजेसन) जस्ता कुराको ठूलो निर्णय लिए।

त्यो निर्णय लिँदा कतिपय आफ्नै मन्त्री र पार्टीका नेता अनि कर्मचारीतन्त्रलगायत कतिपय महत्वपूर्ण पदका जिम्मेवारहरुलाई थाहा थिएन भन्ने समाचार बाहिर आयो। तर एक्लै सोझै निर्णय लिँदा पनि शक्तिशाली होइन भित्रभित्रै ठूल्ठुलै अपराध हुने रहेछन् भन्ने पनि गुगल सर्चले देखाइदियो। अझ अमेरिकामा राष्ट्रपति नै ‘कमाण्डर इन चिफ’ हुने सन्दर्भमा भने सबैभन्दा कमजोर ‘कमाण्डर इन चिफ’ नै ओबामा हुन् समेत भनिदिए गार्डिनरले।

रोयटर्सदेखि धेरै न्यूज एजेन्सीले विश्वासनियताका साथ क्यारी गरेका ओवामालाई २५ मार्च, २०११ मा दिएको टिप्पणीमा उनले ससाना अभिव्यक्तिमा दिएका दृष्टिकोणले नै उनलाई कमजोर बनाएको र लिविया मिशनमा समेत असफल भएको उल्लेख गरेका छन्।

जसलाई अरु टिप्पणी दिने नागरिकहरुले पनि आँखा चिम्लेर विश्वास गरेका थिए। यसले के देखायो भने हिजो-आज नेताहरु मिडियासँग के बोल्ने भनेर विहान बेलुका एकपटक मिडिया वाच गर्छन् त्यो पनि थाकेर केही नबुझ्ने भएको बेला वा जाँड खाएर कुराको सुद्दी नघुस्ने बेला, अनि मिडियामा गएर बोल्छन्।

अनि पत्रकार साँझ विहान यसो नेतासँग बोलेर लेख्छन् वा भट्याउँछन्। अथवा सोझो मिडियालाई सुँघेर नेता बोल्छन्, नेतालाई सुँघेर मिडिया बोल्छन्। हो, यसैवीचमा एउटा यस्तो अंग्रेजीमा ओएल अर्थात् ‘ओपिनियन लिडर’ भनिनेहरु पनि हामी भित्रको संस्कारले जन्माउँदै ल्याएको छ, जसले नेताको कमजोरी रबलियो पक्ष जनताको वीचमा राख्न थालेको छ। त्यो पक्षको टिप्पणी, सुझाव र विरोधसमेत जुन नेतृत्वले बुभ्न सक्छ : त्यो नेतृत्व नै बलियो हुने बौद्धिक युगमा उदाहरणहरु देखिन थालेका छन्।

हेनरी किसिंगर आफैँ शक्तिशाली कूटनीतिज्ञ भए पनि उनलाई हामीले जति प्रयत्न गरे पनि अरु मुलुकले हाम्रो कुरा मानिरहेका छैनन्, रणनीति के छ तपाइँसँग भन्ने प्रश्नमा ‘म पहिला उनीहरुसँग छलफल गर्छु अनि उनीहरुसँगै बुझेर रणनीति बनाउँछु’ भन्ने जवाफ दिँदा ओएलहरुबाट उठेको टिप्पणीले उनको मत नै १३ प्रतिशतले खर्ल्यापखुर्लुप्पै घटाइदिएको तथ्यलाई भुल्नुहुन्न।

टिप्पणीकारहरुले रणनीति कसरी बनाउँछु भन्दै हिँड्ने र आफ्नोसुरक्षाका लागि अरुहरुसँग सल्लाह गर्छु भन्ने व्यक्ति खतरनाक हुन्छन् भनेपछि जनताले अरु नेताले जे भने पनि पत्याउन गाह्रो भयो।

‘राइट टु रिजेक्ट’ र ‘राइट टु रिकल’ नेपालमा त्यस्ता नेताहरु जन्मनै नै गाह्रो होला, तर त्यो उनीहरुकै आवश्यकताले पनि जन्माउनेछ। त्यो यसकारण पनि जन्मने छ कि मान्छेहरु अब बढी नै व्यस्त वा राजनीतिक नेताहरुबाट वितृष्ण बनिरहेका छन्, जसले उनीहरुमा मुलुकमा झैँ अरुबाट आफ्नो निर्णय गर्ने विकसित संस्कृति सुरू हुन्छ।

त्यसैले उनीहरुले सकेसम्म लामो भाषण होइन, सीधा-सीधा आफ्नो योजना र विचार अनि फेरि तिनमाथि ओएलहरुका टिप्पणीहरु हेरेर निर्णय गर्न थाल्नेछन्। त्यसका संकेतहरु पनि हिजो आजकै दिनहरुमा देखिन थालेका छन्।

त्यसको उदाहरण जनआन्दोलनताका केही नागरिक आन्दोलनका अगुवाहरुलाई स्वतन्त्ररुपमा सरकारको नेतृत्व गर्न दिएर पुरानो नेतृत्वले आराम लिनुपर्ने विचार आएको थियो। जनताको स्वतन्त्र विचारप्रतिको आस्था राजनीतिक अकर्मण्यताका कारण नै बढेर गएको छ।

त्यसतर्फ ध्यान दिने नेता नै अहिलेको दह्रो नेता हुन सक्छ। त्यसैले होला : कहिले कवि लेखकलाई बोलाएर तपाइँको यो विषयमा धारणा के छ भनेर भारतदेखि अमेरिकासम्मका प्रधानमन्त्री राष्ट्रपतिहरुले बेला बेला लाजगाल भए पनि सोधिरहन्छन्।

कहिले खेलाडीहरुलाई बोलाएर तपाइँको फलानो इभेण्टको यो व्याटिंग, यो बलिंग मन पर्‍यो भनिरहन्छन्। त्यो पनि आफ्नो जनवर्गीय संगठनका धुपौरेको मात्र भेटघाट होइन। स्वतन्त्र विचारको प्रतिनिधित्व गर्ने र उनीहरुका टिप्पणीमार्फत विचार बनाउने नागरिक, काममा व्यस्त पेशाकर्मीहरु जो नेताका भाषण सुन्न भ्याउँदैनन् वा मन पराउँदैनन्, उनीहरुका लागि बल पुग्छ र त्यही बल नै अबको शताब्दीका नेताहरुको बल हो। हो त्यही बललाई प्रयोग नगर्ने नेता अब बलियो हुन सक्तैन। नेता बलियो हुन पहिले व्यवस्था बलियो हुनुपर्छ। यही व्यवस्था नै मान्ने हो भने पनि ‘राइट टु रिजेक्ट’ र ‘राइट टु रिकल’ नभएसम्म हामी जनता पनि, व्यवस्था पनि र सरकार पनि कमजोर नै भइरहन्छ समग्रमा।
साभार :थाहा खबर

प्रतिक्रिया