भोट हाल्नु हाम्रो कर्तव्य हो, देउवालाई विश्वासको मत दिन्छौं : नेतृ झाँक्री

admin

काठमाडौं, ३ साउन : एमाले नेतृ रामकुमारी झाँक्रीले अदालतको परमादेशपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनु आफूहरूको कर्तव्य भएको बताएकी छन् । नेतृ झाँक्रीले आइतबार सामाजिक सञ्जाल फेसबुकमा आफूहरूले संविधानको धारा ७६ को उपधारा ५ अनुसार देउवालाई १४९ जना सांसदले समर्थन गरेको भन्दै त्यसमध्ये १४६ जनाले सर्वोच्चको ढोका नै ढक्ढक्याएकाले देउवालाई मत दिनुपर्ने बताएकी हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘हामीले ७६ (५) को प्रमको लागि सङ्घीय संसद्का माननीय सदस्य शेरबहादुर देउवालाई समर्थन गरेका थियौँ । १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढक्ढकाउन पुगेका हौँ । अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो । सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ। त्यसो गर्न सकिँदैन भने सांसदहरूलाई संसद्को पुरा कार्यकाल सञ्चालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौँ । यदि त्यो पनि भएन भने हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो । हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौँ ।’

आइतबार प्रधानमन्त्री शेरवहादुर देउवाले विश्वासको मत लिँदैछन् । यता संसद सचिवालयमा विश्वासको मत लिनेबारे निवेदन दर्ता भएपछि यता नेकपा एमालेका वरिष्ट नेता माधवकुमार नेपालको निवासमा उनी निकट सांसदहरुको बैठक बसेको छ । देउवालाई विश्वासको मत दिने कि नदिने भन्ने बारेमा निर्णय गर्न बैठक बसेको हो ।

प्रतिक्रिया