काठमाडौं, ६ असाेज : सरकारले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न ल्याइएको अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने भएको छ । बुधबार नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता कृष्णबहादुर महराले सो अध्यादेशको विषय भोलिसम्म टुंगिने बताएका छन् ।
महराले भोलि (विहीबार) बस्ने संसद बैठकमा प्रतिस्थापन विधेयक आउने बताएका हुन् । सरकारले दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलका ४० प्रतिशत सदस्यको समर्थन आवश्यक पर्ने व्यवस्था अध्यादेशमार्फत संशोधन गरी केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशत भए पुग्ने बनाएको थियो ।
सोही ब्यवस्था अनुसार जनता समाजवादी पार्ट (जसपा) विभाजन गरेर महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेताले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेका छ, भने नेकपा (एमाले) विभाजन गरी माधवकुमार नेपालसहितका नेताले नेकपा (एकीकृत समाजवादी) ‘एस’ गठन गरेका छन् ।
त्यस्तै प्रवक्ता महराले मन्त्रिपरिषद विस्तार बिहीबार हुने र माओवादी तर्फबाट सरकारमा सहभागी हुनेको नाम पनि टुङ्गो लाग्ने पनि बताए । त्यस्तै बैठकले माओवादीको प्रवास समितिले बनाएको निर्देशिकालाई समेत अनुमोदन गरेको उनले बताए ।
निर्देशिकामा ६ वटा उपक्षेत्र बनाएर पार्टीले काम गर्ने उल्लेख गरिएको प्रवक्ता महराले जानकारी दिए । त्यस्तै बैठकले डोर प्रसाद पौडेललाई पार्टी कार्यालयमा नियुक्त गर्ने निर्णय पनि गरेको महराले बताए ।