माओवादी एमालेकरण हुँदै गयो, अबको चुनावमा माओवादी केन्द्र पहिलो नम्बरमा आउँछ : दाहाल

admin

काठमाडौं, ४ असोज : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता बढेको बताएका छन् । सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आफ्नो पार्टीमा बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता भएको बताएका हुन् ।

उनले नेकपा माओवादी केन्द्रमा पनि बिस्तारै बिस्तारै व्यवहारमा एमालेको नेताका जस्तै व्यवहार देखिन थालेकाले चिन्ता बढाएको बताए । उनले समाजको विकास र न्यायको निम्ति पनि पार्टी र आफूहरुलाई रुपान्तरण गर्नुपर्ने आवश्यक्ता रहेको बताए । अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निरङ्कुशता थाहा पाए पनि केही साथीहरुले आफूलाई आत्मसमर्पण गरेको बताए ।

उनले नेकपा एमालेले मदन भण्डारी र एमालेको लोगो भएपछि एमाले भनिरहेको भन्दै एमालेको कुनै सिद्धान्त नरहेको बताए । कार्यक्रममा अध्यक्ष दाहालले थोरै मेहनत गरे नेकपा माओवादी केन्द्र अबको चुनावमा पहिलो नम्बरमा आउन सक्ने दाबी गरे । उनले माओवादी केन्द्रले मात्रै साँचो अर्थमा समाजवादी क्रान्तिको रणनीतिमा देशलाई अघि बढाउन सक्ने दाबी गरे ।

अध्यक्ष दाहालले अब फेरि एक पटक सम्पूर्ण कम्युनिस्टहरूले सोच्नुपर्ने बेला आएको बताए । उनले कम्युनिस्टहरुले नेतृत्व नगरे अरुले बिगार्ने मात्रै देखिएको भन्दै सबै कम्युनिस्टहरुले आँखा चिम्लेर भए पनि देश र जनताको लागि सोच्नुपर्ने बताए ।

प्रतिक्रिया