काठमाडौं, २८ माघ : प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा प्रचण्ड-नेपाल समूहले आयोजना गरेको बृहत विरोध प्रदर्शन र सभाअघि काठमाडौं उपत्यकाका विभिन्न ५ स्थानबाट जुलुस निकालेको छ । मायतीघर, पुल्चोक, जमल, कुपण्डोल र लैनचौर क्षेत्रबाट जुलुस सुरु भएको केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराइले जानकारी दिए ।
पाँचै स्थानको जुलुस सुन्धारामा पुगेर मूल जुलुसमा परिणत भएको थियो । यसैबीच सभाका लागि काठमाडौंको बसपार्क, राष्ट्रिय सभा गृह र भद्रकालीको बीचमा टी आकारमा बस्न मिल्ने गरी मञ्च तयार गरिएको छ ।
सभा र जुलुस व्यवस्थित बनाउन सयौँ स्वयम्सेवक परिचालन गरिएको छ । (आज) बुधबारको विरोध सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, नेता जनार्दन शर्मा लगायतले सम्बोधन गर्ने तयारी छ ।