यो छोरी, बुहारी र सम्धीको पार्टी होइन, हामीलाई देश बनाउनु छ : प्रधानमन्त्री

admin

काठमाडौं, २४ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले गालीगलौज गर्ने फुर्सद नभइ देश बनाउने सरकारको प्राथमिकता भएको बताएका छन् । पार्टी विभाजन भएपछि पहिलोपटक धनगढी पुगेका प्रधानमन्त्री ओलीले सार्वजनि कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग मुखमुखै लाग्न, दन्तबझान गर्ने फुर्सद नभएको बताएका हुन् ।

“बाटामा गएर मुख छाडेको छ, सभ्यता केही छैन । हामीलाई उहाँहरूसँगै गालीगलौज गर्न, दन्तबझान गर्ने फुर्सद छैन । देश बनाउनु छ,” उनले भने । उनले सरकार मुलुक बनाउन लागि परेको, विकास, निर्माणका लागि स्रोतको व्यवस्थापन गरिरहेको बताए । विकास निर्माणका लागि बजेटको खाँचो हुन नदिने पनि बताए ।

सुदूरपश्चिम प्रदेशका नागरिकहरू रोजगारी खोज्दै उत्तराखण्डलगायत भारतका विभिन्न ठाउँमा जानुपर्ने अवस्था अन्त्य गर्न सरकार लागिपरेको पनि बताए । उनले मोटरबाटोले नजोडेको हुम्लालाई पनि सडकसञ्जालबाट विमुख हुन नदिइने जिकिर गरे ।

प्रधानमन्त्रीले दाहाल र नेपाललाई दस सिट ल्याएर देखाउन चुनौती दिएका छन् । उनले आफूले नेतृत्व गरेको नेकपा छोरी, बुहारी, सम्धीको पार्टी नभएको बताए । उनले दाहाललाई कटाक्ष गरेका थिए । उनले आफू सरकारको नेतृत्वमा भए पनि कोही एकजना आफन्तलाई कतै नियुक्ति नदिएको बताए ।

उनले ५० वर्षअघि देखि नै एकता-एकीकरणको अभियानको थालनी गरेको बताए । दाहाललाई पनि काम लाग्छ कि भनेर पार्टीमा ल्याएको र ‘लाटोकोसेराले घाम लागेको बेला देख्न नसके’ जस्तै सरकारले काम थालेको देख्न नसकेको टिप्पणी गरे ।

प्रधानमन्त्रीले चुनाव रोक्न कसैले नसक्ने भन्दै चुनावमा लाग्न र आफुले हस्ताक्षर गरेर पठाएको उम्मेद्वारलाई जिताउन कार्यकर्तालाई सुझाव दिए । आफुले हस्ताक्षर गरेर पठाएको उम्मेद्वारलाई भोट हाल्न आग्रह गर्दै त्यसपछि देशको विकास गर्ने जिम्मेवारी आफ्नो हुने दावी गरे ।

प्रतिक्रिया