राष्ट्रवाद, विकास र समृद्धि देखाएर मूल्य बृद्धि अनि चुच्चे नक्सा गायब पारियो : सांसद महत

admin

काठमाडौं, ३० चैत : प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले सरकारले राष्ट्रवाद देखाएर चुच्चे नक्सा गायब पारेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा नेकपा माओवादी केन्द्र जुम्लाबाट निर्वाचित सांसद महतले सरकारले एकथोक देखाएर अर्कै काम गरेको आरोप लगाएका हुन् ।

उनले अहिले पेट्रोलियम पदार्थ, निर्माण सामग्री र खाद्य सामग्रीको मूल्य अचाक्ली बढेको पनि बताएका छन् । उनले संसद्लाई सम्बोधन गर्दै भने, ‘मेलम्चीलाई देखाएर पेट्रोल र डिजेलको भाउ बढेको छ । धरहरालाई देखाएर यहाँ डण्डी र सिमेन्टीको भाउ बढ्याछ सभामुख महोदय । विकास र समृद्धि देखाएर नुन, तेल, चामल र दालको मूल्य बढाएर यहाँ जनताको ढाड सेकिएको छ ।’

त्यस्तै पार्टीभित्रको झगडाको असर संसद्मा पारिएको पनि उनको आरोप छ । ‘पार्टीभित्रको झगडालाई देखाएर संसद्को ढाडै भाँच्ने काम भएको छ । कोरोना देखाएर ऋणले जनता डुबाइसकियाछ सभामुख महोदय । राष्ट्रवाद देखाएर यहाँ चुच्चे नक्सा पनि गायब पारियो । अब यस्तो भइरहेको छ । सभामुखमार्फत यसमा सबै पार्टीको ध्यान जाओस् जनताको ध्यान जाओस् भन्ने चाहन्छु,’ उनले भने ।

प्रतिक्रिया