justnep single

रेलका लागि भाडादर प्रस्ताव

राष्ट्रिय समाचार समिति

काठमाडौं, २८ माघ : कुर्था-जयनगर रेलमार्गमा झण्डै सडक मार्गमा सरकारले तोके जतिकै भाडादर कायम गरिने भएको छ । यस रेलमार्गमा रेल सञ्चालनको तयारी अघि बढाइरहँदा नेपाल रेल्वे कम्पनी लिमिटेडले भाडादर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरेको छ ।

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर सडकमा भाडादर ७५ रुपैयाँ प्रस्ताव गरिएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । अरू सवारीसाधन जति नै हुने गरी भाडादर प्रस्ताव गरिएको उनले बताए । सामान्यभन्दा डिलक्स सिटका लागि भने महँगो भाडा पर्नेछ ।

सामान्यभन्दा चारदेखि पाँच गुणासम्म महँगो भाडा कायम हुन सक्ने उनको भनाइ छ । उनले भने, हामीले प्रस्ताव गर्दा तीन सय ७५ रुपैयाँ प्रस्ताव गरेका छौँ । औपचारिक रूपमा उद्घाटन गर्नासाथ रेल नियमित सञ्चालनको तयारी पूरा भएको कम्पनीले जनाएको छ ।

भारतीय कम्पनी कोनकोन कम्पनीबाट केही समयमा नै संरचना जिम्मा लिइने कम्पनीले जनाएको छ । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको यस रेलमार्ग सञ्चालनका लागि गएको असोज २ गते दुई सेट डेमो ट्रेन आएको थियो ।

यस रेलमा एक हजार दुई सयदेखि एक हजार तीन सय जनासम्म यात्रु बसेर र उभिएर गरी यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ । यात्रुवाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया