लिसंखु पाखर गाउँपालिकामा कोरोना संक्रमित थपिए, सेवा सबै बन्द

रबि धिताल

सिन्धुपाल्चोक, १५ असोजः सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिकामा कोरोना संक्रमितको संख्या थपिएको छ । २४ जनाको स्वाब संकलन गरिएको मध्ये ७ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाले जनाएको छ ।

यसअघि पालिका वडा नम्बर ४ अत्तरपुर स्वास्थ्य चौकीका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टिभएपछि कन्ट्याक्ट ट्रेसिङ मार्फत २४ जनाको स्वाब संकलन गरिएको थियो । संक्रमितको संख्या बढेसँगै पालिकाले आफ्नो सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले बिहीबार एक सूचना जारी गर्दै असोज २२ गतेसम्म सबै सेवा बन्द रहेको जनाउनुभएको हो । जारी सूचना अनुसार पालिकाभित्रका ७ वाटै वडा कार्यालय, अत्तरपुर स्वास्थ्य चौकी, गाउँपालिकाको कार्यालय बन्द भएका हुन् ।

पालिकाले भर्चुअल विधिबाट सञ्चालन भइरहेका पठनपाठन बाहेक अन्य सबै शिक्षण सिकाई क्रियाकलाप समेत बन्द गर्न आग्रह गरेको छ । उपचारका लागि स्वास्थ्य चौकी जानु परेपनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गरे जान पालिकाले आग्रह गरेको छ ।

प्रतिक्रिया