काठमाडौं : नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले ब्यक्तिगत झगडा तथा गाली–गलौज नगर्न आग्रह गरेका छन्।सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै प्रवक्ता श्रेष्ठले पार्टी भित्रको छलफल, वहस र अन्तर संघर्षलाई व्यक्तिगत गाली-गलौज र आरोप प्रत्यारोपको रुप दिन नहुने बताएका छन्।
उनले पार्टी अलग अलग गरौँ भन्ने प्रस्ताव गलत रहेको उल्लेख गरेका छन्। ‘सल्लाह गरेर पार्टी अलग अलग गरौं भन्ने कुरा जहाँसुकैबाट आएको भएपनि सही होइन।
तर त्यसमा अन्तर्निहित एउटा पक्ष ,अर्थात व्यक्तिगत कटुता सहितको व्यक्तिगत विषय नबनाऔं भन्ने कुरा सही छ र त्यसलाई पार्टी विभाजन नगरी अर्को सन्दर्भमा सकारात्मक रुपले प्रयोग गरौं’ उनले लेखेका छन्।
राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर विचार, नीति र प्रबृत्तिमा आधारित भई स्वस्थ एवम् रुपान्तरणमुखी छलफल गर्न उनले आग्रह गरेका छन्।
श्रेष्ठले भनेका छन् ‘तैं चुप मै चुप पनि नगरौं, तुम शेर तो, हम सवा शेरझैं व्यक्तिगत झगडा तथा गाली-गलौज पनि नगरौँ।’ पार्टीलाई अकर्मण्य बनाई विघटन एवं विसर्जनको दिशामा जान र भ्रष्ट पुँजीवादी बन्न नदिन समेत उनले आग्रह गरेका छन्।