justnep single

शिलान्यास भएको १४ महिनापछि काम सुरु, नागढुङ्गा-नौबिसे सुरुङ मार्ग

admin

काठमाडौं, ८ पुस : नागढुंगादेखि धादिङ्को सिस्नेखोला जोडने सुरुङ्मार्गको निर्माण कार्य शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्याश गरेको १४ महिना पछि सुरुङ खन्ने काम शुरु भएको हो । सन् २०२२ को अन्तिम सम्ममा निर्माण सम्पन्न गर्नुपर्ने यो सुरुङमार्ग कोरोना भाइरसको कारण प्रभावित भएपछि सुरुङ खन्ने काम ढिलो गरी शुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्याश गरेको १४ महिनापछि काठमाडौंको नागढुंगादेखि धादिङ्को सिस्नेखोला जोडने सुरुङमार्ग खन्ने कार्य मंगलबारदेखि शुरु भएको हो । २ दशमलव ६८ किलोमिटर लम्बाई रहेको यो सुरुङमार्ग सन २०२२ को अन्त्य सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

गत वर्षको कात्तिक ४ गते प्रधानमन्त्री ओलीले शिलान्यास भएपनि मुआब्जा विवाद, विष्फोटक पदार्थको आयातमा भएको ढिलाई र कोरोनाका कारण निर्माण उपकरण आयातमा भएको ढिलाईका कारण १४ महिना ढिलो गरी निर्माण कार्य शुरु भएको सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताएका छन् ।

यो आयोजना जापान सरकारको १६ अर्ब ऋण सहयोग र नेपाल सरकारको करिब ६ अर्ब लगानी गरी झण्डै २२ अर्ब लगानीमा निर्माण सम्पन्न हुनेछ । आयोजना स्थलमा सुरुङ खन्नका लागि निर्माणस्थलसम्म पहुँचमार्ग, खोलामा कल्भर्ट बनाउने कार्य पूरा भइसकेको छ । तोकिएको समयभन्दा केही ढिलो गरी काम शुरु भए पनि समयमै निर्माण कार्य सम्पन्न हुने पनि थापाले बताए ।

जापानको हाज्मा एन्दो कर्पोरेसनले निर्माण कार्यको जिम्मा लिएको छ । ड्रिलिङ एन्ड ब्लास्टिङ प्रविधिबाट सुरुङ खन्ने काम हुनेछ । आयोजनाका अनुसार सुरुङ मार्गको कुल लम्बाई २ दशमलव ६८ किलोमिटर छ भने ३ दशमलव ५ मिटर चौडाई रहेका दुई लेन हुनेछन् । यस्तै अत्यावस्यक रेस्क्युका लागि समेत छुट्टै एक्सिस रोड पनि निर्माण हुनेछ ।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागले सुरुङमार्ग निर्माण गर्न २०६९ साल माघ देखि २०७२ सालसम्ममा विभिन्न चरणको सर्वेक्षण गरेको थियो । सोही सर्वेक्षणको आधारमा सुरुङ मार्ग निर्माण कार्य शुरु भएको छ । सन् २०२२ को अन्त्य सम्म निर्माण सम्पन्न गर्नुपर्ने लक्ष्य भए पनि कोरोनाका कारण सुरुङ खन्ने कार्य नै ढिलाई भएपछि सन २०२३ को मध्य सम्ममा निर्माण सम्पन्न हुने सम्भावना रहेको आयोजनाले बताएको छ ।

प्रतिक्रिया