काठमाडौं, ५ पुस : जनता समाजवादी पार्टी (जसपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको सिफारिस लोकतन्त्रमाथि प्रहार भएको बताएका छन् । संसद विघटनको लागि गरिएको सिफारिसलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा र पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संसद विघटनको सिफारिस गर्ने निर्णय लोकतन्त्रको मर्म विपरीत भएसँगै अस्थिरताको पराकाष्ठा भएको प्रतिक्रिया दिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गर्ने निर्णय गर्नु लोकतन्त्रमाथि नै प्रहार गर्ने काम भएको भट्टराईको भनाइ छ । यो कदमलाई सबै तवरबाट प्रतिवाद गर्नुपर्ने भन्दै उनले यसले हिजोकै संसदीय व्यवस्थाजस्तै अस्थिरता निम्त्याउने काम भएकाले कडा प्रतिवाद गर्नुको विकल्प नरहेको बताएका छन् ।
यस्तै, प्रवक्ता शर्माले पनि प्रधानमन्त्रीको यस्तो कदम अस्थिरताको पराकाष्ठा भएको बताएका छन् । उनले एक अनलाइन पत्रिकासँग कुरा गर्दै प्रधानमन्त्री ओलीले संसद विघटनका लागि गरेको सिफारिस लोकतन्त्रमाथिको प्रहार भएको बताएका हुन् ।
प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीको यस्तो कदमप्रति नेपाली कांग्रेसले कडा प्रतिवाद गर्नेसमेत बताएका छन् । कांग्रेसले राजनीतिक रुपमै प्रतिवाद गर्ने दाबी गरे। आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर प्रधानमन्त्रीले संसद विघटनका लागि सिफारिस गरेका हुन् ।