justnep single

सकियो ओली र नेपालबीचको भेटवार्ता, अडान कायमै

admin

काठमाडौं, २ चैत : नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको (भेटवार्ता) बैठक सकिएको छ । ओली र नेपाल पक्षबीच सोमबार पार्टी कार्यालय धुम्बाराहीमा छलफल भएको हो । उक्त बैठकमा ओली र नेपालसहित ११ जना नेता सहभागी थिए ।

सोमबार बसेको बैठकमा पार्टीमा देखिएका समस्याका विषयमा छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएको उपाध्यक्ष भीम रावलले जानकारी दिएका छन् । बैठकमा अध्यक्ष ओलीले राष्ट्रिय भेला स्थगित गर्न आग्रह गरे पनि नेपाल समूहले भने आफ्ना पूर्ववत् कार्यक्रम यथावत् रहने अडान राखेका छन् ।

माधव नेपाल पक्षले अध्यक्ष अ‍ोलीले फागुन २८ गते गरेका पदाधिकारी खारेज गर्ने र विभिन्न प्रदेश तथा सङ्गठनमा नयाँ नियुक्त गरेका निर्णय तत्कालै फिर्ता लिन माग गरेको छ । त्यसमा छलफल गर्न सकिने अध्यक्ष ओलीले आश्वासन दिएका छन् ।

आफूहरूले पार्टी एकताबद्ध भएर अघि बढाउन चाहेको तर ओली पक्षले त्यसतर्फ ध्यान नदिएको र सर्वोच्च अदालतको फैसलाअनुसार २०७५ सालको जेठ तीन गतेअघिकै अवस्थामा फर्कन नमानेको रावलको भनाइ छ ।

यस्तै अध्यक्ष केपी शर्मा ओलीले भोलि (मंगलबार) का लागि बोलाएको कार्यकर्ता भेला र चियापान समारोह तथा केन्द्रीय कमिटीको बैठकसमेत स्थगित गर्न नेपाल समूहले माग गरेको छ ।

‘पहिले २८ गतेको निर्णय स्थगित गर्नुहोस्, त्यसपछि साझा रूपमा केन्द्रीय कमिटीको बैठक बोलाऔँ, तपाईँहरूले एकलौटी रूपमा गरेका निर्णय स्थगित गर्नुभयो भने हामीले पनि हाम्रो तर्फबाट गर्ने भनिएका कार्यक्रम स्थगित गर्छौँ भनेका छौँ’, रावलले भने ।

यसैगरी उक्त बैठकमा आन्तरिक एकताको विषयमा छलफल केन्द्रित नेता रघुजी पन्तले जानकारी दिए । बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा माधव नेपाल पक्षीय नेता रघुजी पन्तले आफूहरुले २८ गतेको निर्णय फिर्ता लिनुपर्ने विषयमा अडान प्रस्तुत गरेको बताए ।

त्यसमा अध्यक्ष ओलीबाट ठोस जवाफ नआएको बताएका छन् । नेपाल पक्षलाई खबर नै नगरी त्यसदिन बालुवाटारमा अध्यक्ष ओलीले २३ जना माओवादी नेतालाई केन्द्रीय कमिटीमा मनोनित गर्नेदेखि विधान संशोधनसम्मका निर्णय गरेको थियो । उक्त निर्णय सच्याउनुपर्ने नेपाल पक्षको सर्त छ ।

यस्तै नेता पन्तले अदालतले सबैलाई एकै ठाउँमा ल्याइदिएकाले एमालेलाई एकताबद्ध बनाएर सुदृढ दिशातिर अघि बढ्नुपर्ने विषयमा छलफल भएको बताए । दुबै पक्षले आआफ्नो अडान राखेको भन्दै छलफल जारी रहने पनि नेता पन्तको भनाइ छ । सर्वोच्च अदालतले फागुन २३ मा नेकपा एमाले ब्युँताइदिएको थियो ।

प्रतिक्रिया