सगरमाथा आधार शिविरमा पहिलो पटक दुई सरकारी डाक्टर खटिँदै

admin

काठमाडौं, ५ चैत्र : सन् २०२१ को वसन्त ऋतुमा हुने आरोहणका लागि सरकारले दुई जना डाक्टर सगरमाथा आधार शिविरमा पठाउने भएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले दुई जना डाक्टरलाई आधार शिविरमा पठाउने गरी पर्यटन विभागमा खटाएको निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो ।

आधार शिविरमा सरकार स्वयंले डाक्टर पठाएको यो पहिलो पटक भएको निर्देशक आचार्यले बताउनुभयो । ‘मैले धेरैतिर अध्ययन गरेँ तर यसभन्दा अघि सरकारले नै आधार शिविरमा डाक्टर खटाएको तथ्य भेटिएको छैन’, आचार्यले  भन्नुभयो ।

सरकारले खटाएका दुई जना र अर्का एक जना गरेर तीन जना डाक्टरलाई पर्यटन विभागले आउँदाे शनिवार आधार शिविरतर्फ पठाउने पनि उहाँले बताउनुभयो ।

डाक्टरहरूले जेठको १५ गतेसम्म सगरमाथाको आधार शिविरमै रहेर सेवा दिनेछन् । सगरमाथा आरोहणमा जानेहरूबाट सरकारले महँगो रोयल्टी लिने भए पनि आधार शिविरमा पर्याप्त स्वास्थ्य सेवा नभएको भन्दै गुनासो आउने गरेको थियो ।

प्रतिक्रिया