justnep single

सचिवलाई कारवाहीको माग गर्दै मन्त्रीद्वारा मुख्यमन्त्रीलाई पत्र

admin

सुर्खेत, २ चैत : कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले मन्त्रालयका सचिवलाई कारवाहीको माग गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पत्र लेखेका छन् । सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौड्याललाई कारवाहीको माग गर्दै मन्त्री रावलले मुख्यमन्त्री शाहीलाई पत्र लेखेका हुन् । मन्त्रालयका कुनै कामहरु नभएको भन्दै सामाजिक विकासमन्त्री रावलले सचिव पौड्याललाई कारवाहीको मागसहित फागुन २३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पत्र लेखेको पाइएको हो ।

‘सचिव लोकनाथ पौड्यालले पदबहाली गरेको समयदेखि नै मन्त्रालयको कामकाजभन्दा व्यक्तिगत कामलाई मात्र महत्व दिएको तथा पदको जिम्मेवारी, दायित्व र कर्तव्यलाई सिरानीमा हालेर निदाएजस्तो गरी चालू आर्थिक वर्ष २०७७/०७८ को अन्तिमतिर आउँदासम्म पनि मन्त्रालयको काममा सिन्को भाँच्ने सम्मको कार्य गरेनन्,’ मन्त्रीले लेखेको पत्रका भनिएको छ, ‘सचिवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउनका लागि आवश्यक कदमका साथ कारवाही प्रक्रिया अघि बढाउन अनुरोध छ ।’

सामाजिक विकासमन्त्री रावलको यही पत्रका आधारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक कारवाही र सरुवाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरेर संघीय मामिलाले पौड्याललाई लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा काज सरुवा गरेको छ ।सचिव पौड्याल कर्णाली प्रदेशमा हुँदा सधै विवादित बन्ने गरेका थिए ।

बादी समुदायको आन्दोलन र प्रदेश सरकारले गरिरहेको पहलका विषयमा अनुगमनका लागि आएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीमाथि पौड्यालले दुर्व्यवहार गरेको आरोप लागेको छ । पौड्यालले दुव्र्यवहार गरेपछि आयोगको टोलीले तिन दिने स्पष्टीकरण सोधेको थियो ।  स्पष्टीकरणका बिषयमा कुनै पनि जानकारी नआएको र थप स्पष्टीकरणका लागि आयोगले पत्र काट्ने तयारी गरेको आयोगले जनाएको छ ।

यता मन्त्रालयको अधिकांश बजेटहरु कार्यान्वयननै नभएको भन्दै कर्मचारीहरु नै असन्तुष्टि व्यक्त गर्दछन् । एक कर्मचारीले भने,‘ सचिवज्यूको कारण अधिकांश कामहरु प्रभावित भएका छन् । कोभिडको समय भएकाले चालु आर्थिक बर्षको स्वास्थ्य क्षेत्रको अधिकांश बजेट हाम्रै मन्त्रालयमा छ ।’

प्रतिक्रिया