काठमाडौं, ८ बैशाख : सर्वोच्च अदालतमा सभामुख अग्नि सापकोटाविरुद्ध परेको विचाराधीन कर्तव्य ज्यान मुद्दाको सुनुवाइ बुधबार हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको छ । इजलासमा प्रधानन्यायाधीश जबरासहित, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।
सशस्त्र द्वन्द्वको बेला काभ्रेका अर्जुन लामाको २०६२ बैशाख १६ गते तत्कालीन माओवादीले अपहरण गरी ह’त्या गरेको अवस्थामा दुई महिनापछि शव फेला परेको थियो । अर्जुनकी श्रीमती पूर्णीमायाले २०६९ मंसिर ७ गते कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेकी थिइन् ।
सुरुमा प्रहरीले जाहेरी लिन नमानेपछि पूर्णीमायाले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । अदालतको आदेशपछि काभ्रे प्रहरीले २०६५ साउन २७ गते सापकोटा लगायत अरु ६ जना माओवादीविरुद्ध कर्तव्य ज्यान मुद्दाको उजुरी दर्ता भएको थियो । यो मुद्दामा पटक पटक पेसी चढे पनि हेर्न नभ्याइने भन्दै स्थगित हुँदै आएको थियो ।