सेतो पुतलीसँग सचेत बनौँ

admin

काठमाडौं, १० असोज : फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुसी हुन्छन् । यद्यपि, सबै पुतली खुसी दिनेखालका हुँदैनन् । चिकित्सकको सुझाव छ, ‘‘सेतो पुतलीसँग सचेत बनौँ ।’’

सेतो पुतलीले यतिबेला नेपाली जनस्वास्थ्यलाई चुनौती दिइरहेको छ । सेतो पुतलीको झुस आँखामा सङ्क्रमण भएको ४८ घण्टाभित्र अस्पतालमा उपचार नथाले आँखाको ज्योति नै गुम्ने खतरा हुन्छ । आँखाको भित्री भागसम्म गएर यसले दृष्टिमा क्षति पु-याउँछ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका आँखा रोग विशेषज्ञ डा. सञ्जीव भट्टराईका अनुसार, मानिसको दृष्टि छिनभरमै नष्ट गर्ने आँखाको खतरनाक रोग हो– सापु । सापु सङ्क्रमण भएपछि आँखामा फुलो परेकोजस्तै बाहिरबाटै टल्केको र नानी पूूरै सेतो देखिन्छ ।

यसले आँखाभित्र पानीले बनेको तहसम्म पुगेर नानी, लेन्स भित्री भाग भिट्रियससम्म सङ्क्रमण गराउँछ । यो रोगका लक्षण देखापरेको ४८ घण्टाभित्रै उपचार नगरे आँखाको दृष्टि गुम्न सक्ने उहाँले बताउनुभयो । परीक्षण गर्दा कुनै पनि जीवाणु, किटाणु नरहेको देखिए त्यो सापु हो भन्ने बुझ्नुपर्छ ।

यो रोगको निदान तथा उपचार आँखा विभागअन्तर्गतका अस्पतालमा मात्र गर्ने गरिन्छ । सापुको आकस्मिक उपचार सेवा, आँखाभित्र औषधिको सुई लगाएर तथा जटिल अवस्थामा आँखाको शल्यक्रिया गरेरसमेत गर्न सकिन्छ ।

नेपाल आँखा अस्पतालका प्रमुख डा. कमलबहादुर खड्काले सेतो पुतलीबाट लाग्ने सापु रोगले जनस्वास्थ्यमा समस्या थपेको बताउनुभयो । पोखरा, स्याङ्जा, गुल्मी, लमजुङ, बाग्लुङलगायत पहाडी जिल्लामा यो रोगको समस्या देखिएको छ ।

उपत्यकामा पनि सापुको जोखिम बढेको र यसको जोखिम भदौदेखि मङ्सिरसम्म रहने उहाँले बताउनुभयो । डा. खड्काका अनुसार, सेतो धर्के पुतलीसँग बालबालिका रमाउँछन् ।

पुतलीसँग खेल्ने, रमाउने र मार्ने क्रममा पुतलीका रौँ आँखामा पर्दा यसको सङ्क्रमण जोखिम बढ्छ । बालबालिकामा यो रोग बढी देखिनुका कारण बालबालिकाको पुतलीप्रेम नै रहेको अनुभव उहाँको छ । सेतो पुतली सेतो बत्तीमा घुम्न बढी रमाउँछ । सेतो पुतलीसँगको संसर्गमा आएका ठूला व्यक्तिलाई पनि सापु लाग्छ ।

आँखाका अन्य रोगभन्दा सापु फरक हुन्छ । यो रोग लाग्दा आँखा रातो हुने, उज्यालोमा हेर्न गाह्रो हुने, आँखाको कालो भागको बीचमा सेतो हँुदै जाने, ज्यादै छोटो समयमा दृष्टि कम हुँदै जानु, आँखा पाकेजस्तो देखिए पनि चिप्रा पटक्कै नआउने नै यसका प्रमुख लक्षण रहेको डा. खड्काको भनाइ छ ।

‘सिजनल हाइपर एक्युट पानुभिआईटिस’ अर्थात् सापु रोग नेपालमा पहिलोपटक २०३२ सालमा पोखराका बालबालिकामा देखिएको थियो । सापु तीव्र गतिमा फैलिएर केही घण्टामै आँखाको भित्री भागसम्म पुग्छ । तत्काल उपचार हुन नसकेमा बिरामीले दृष्टि गुमाउँछ ।

अहिलेसम्मको तथ्याङ्क हेर्दा यो रोग प्रत्येक दुई वर्षमा नेपालमा देखिने गरेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सापुको जोखिम बढेकाले सजग रहन सबैमा आह्वान गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ  ।

प्रतिक्रिया