justnep single

हामी एकताकाे पक्षमा छाैँ, राष्ट्रिय भेलामा पनि पार्टी फुटाउने कुरा गरेका छैनाैँ : नेता नेपाल

admin

काठमाडौं, ६ चैत : नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरू पार्टी एकताको पक्षमा रहेको बताउनुभएकाे छ । अखिल नेपाल महिला सङ्घ राष्ट्रिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रवार काठमाण्डौमा सम्बोधन गर्दै उहाँले भर्खरै भएको राष्ट्रिय भेलामा पनि आफूहरूले पार्टी फुटाउने कुरा नगरेको बताउनुभएको हो ।

आफूहरू सधैँ पार्टी एकताको पक्षमा रहेको र अदालतको फैसलाअनुसार पुरानै स्थितिमा फर्कनु परेपछि २०७५ जेठ २ गतेको अवस्थामा पार्टीका सबै संरचनालाई यथावत् सक्रिय पार्न सहमत भए पनि अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली त्यसमा तयार नहुँदा समस्या देखिएको उहाँले स्पष्ट पार्नुभयो ।

राष्ट्रिय कार्यकर्ता भेलामा सहभागीलाई कारबाही गर्ने अध्यक्षले चेतावनी दिए पनि कसैको पनि पद र जिम्मेवारी अध्यक्षले खोस्न नसक्ने भन्दै कार्यकर्तालाई धैर्यता र हिम्मतका साथ पार्टी एकताको पक्षमा उभिन नेता नेपालले निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पूर्वएमालेको ठाउँमा फर्किऔँ । कार्यकर्ता भेलामा भनेको कुरा के हो भने हामी पार्टी फुटाउने होइन । पार्टी एकताबद्ध बनाएर लैजाने हो । २०७५ साल जेठ ३ गते दुई वटा पार्टी एकताबद्ध भए । एकताबद्ध हुनुभन्दा पहिले जेठ २ गतेसम्म जुन–जुन संरचना थिए, जो–जो पदाधिकारी, सदस्य थिए । ती सबैलाई यथावत् रूपमा जिम्मा दिनुपर्छ

। पार्टी एकताबद्ध भएर अघि बढाउनुपर्छ । तपाईँहरू एमाले पार्टीको हुन्जेल कसैले तपाईँको पद खोस्न सक्दैन ।’ नेता नेपालले सांसदहरूको सवालमा के–कस्तो हुन सक्छ भनेर आफूहरूले परामर्श गरिरहेकाले नआत्तिइकन कम्युनिस्ट एकताको आन्दोलनमा लाग्न पनि निर्देशन दिनुभयो । केही समयअघि अध्यक्ष ओली समूहअन्तर्गतको अखिल महिला सङ्घले पनि राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो ।

प्रतिक्रिया