५० वर्षदेखी माटोको भाँडा बनाएरै जीवन निर्वाह गर्दै थारू

रबि धिताल

दाङ १८ असोज : मोटोका भाँडा बनाउँदैमा गाजुराम थारूको ५० वर्ष बित्यो । उमेरले ६५ कटेपनि गाजुराम अझै यही पेशामा रमाइरहनुभएको छ । दाङको गढवा गाउँपालिका पत्रेङ्गा गाउँ निवासी गाजुराम मात्र होइन उहाँका सातभाइ छोरा यही माटोको भाँडा बनाउने पेशा अपनाएर जीवनयापन गर्दै आइरहेका छन् । विदेश गएर भन्दा आफ्नै जन्मभूमिको माटोमा काम गर्दा राम्रो हुन्छ भनेर आफूले छोराहरुलाई यही पेशालाई निरन्तरता दिन सुझाव दिएको उहाँले बताउनुभयो । यही पेशाबाट परिवार पाल्न सकिने र आम्दानी हुने देखेर छोड्न पनि नसकेको उहाँले थप्नुभयो । उहाँले भन्नुभयो, “जग्गा जमीन केही छैन, मेरो पनि छैन, बाबु बाजेको पनि थिएन, छोराको पनि छैन, तर यही माटोको भाँडा बेचेर धेरै पुस्ता बाँचिसक्याँै ।”

गाजुरामसहित छोरा, बुहारी घैँटा, भुर्की, ठेकी, कोशी, गमला, खुर्तुके, पालालगायतका भाँडा बनाउन व्यस्त देखिन्छन् । महीनामा रु १० हजारदेखि १५ हजारसम्म भाँडा बेचेर आम्दानी गरीरहेको गाजुरामले सुनाउनुभयो । छोराहरुले भने माटाको भाँडा बनाएर अझै बढी आम्दानी गर्ने उहाँको भनाइ छ ।
कुमाले गाउँ भनेर चिनिने पत्रेङ्गाका अगुवासमेत रहनुभएका गाजुरामको परिवारले गाउँभरि सबैभन्दा धेरै भाँडा बनाउँने गर्छन् ।

सो गाउँमा अहिले करीब ३५ घर परिवार कुमाल छन् । सबैको पेशा माटोका भाँडा बनाएर बेच्नु हो । आधुनिकीकरणसँगै बजारमा प्लाष्टिक तथा अन्य भाँडाको प्रचलन बढेपछि माटाका भाँडा बिक्न छोडेको भन्ने उहाँलाई खासै पत्यार भने लाग्दैन । “विसं २०५५÷५६ सालसम्म धेरै बिक्थ्यो, त्यसपछि पनि एक दुई साल केही कम भयो तर अहिले पनि हाम्ले त बेचिरहेका छौँ”, उहाँले भन्नुभयो ।

विद्यालय पढेका युवायुवतीले भने माटोको भाँडा बनाउन लजाउने गरेको भन्दै गाजुरामले थप्नुभयो “पढायो पढायो, काम गर भन्दा मान्दैनन्, पढे लेखेकाले माटो मुछ्न लजाउँछन्, त्यसैले गाउँमा भाँडा बनाउने घटेका छन्”, उहाँले भन्नुभयो । गाजुरामका कुनै पनि छोराले पढेका छैनन् । “म पनि औँठाछाप हुँ, छोराहरु पनि औँठाछाप हुन् शायद पढेको भए, मैले नि माटोका भाडा बनाउने थिएन कि ?
-रासस

प्रतिक्रिया