६ महिनापछि नेपाल एअरलाइन्सको अनलाइन ‘टिकेटिङ’ सेवा सुरु हुने

admin

काठमाडौं, कात्तिक १९ : नेपाल वायु सेवा निगमले अनलाइन टिकेटिङ सेवा सुरु गर्ने भएको छ । सूचना प्रविधिको अहिलेको समयमा पनि अनलाइन टिकेटिङ सुरु नगरेको भन्दै आलोचना खेपिरहेको निगमले यसै आर्थिक वर्षभित्र अनलाइन टिकेटिङ सुरु गर्ने तयारी गरेको हो ।

निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले अहिले निगमले झण्डै ३० वर्ष पुरानो प्रणालीमार्फत काम गरिरहेकाले अनलाइन टिकेटिङ सुरु गर्न गाह्रो भएको तर अब बिस्तारै पुरानो प्रणाली विस्थापन गरिने बताउनुभएको छ । २० वर्षको अग्रिम भुक्तानी दिएर पुरानो प्रणाली खरिद गरिएकाले एकैपटक पुरानो प्रणाली विस्थापन गर्न नसकिने तर बिस्तारै नयाँ प्रणाली ल्याउने उहाँको भनाइ छ ।

महाप्रबन्धक पौडेलले भन्नुभएको छ, ‘यो ‘सिस्टम’ २० वर्षको अग्रिम भुक्तानी दिएर खरिद गरिएको रहेछ । त्यसैले ‘सिस्टम’ परिवर्तन गर्दा नेपाल एअरलाइन्सलाई ठूलो रकम नोक्सान पर्न जाने भएकोले यसलाई क्रमशः विस्थापन गरेर ६ महिनामा पूर्णरुपमा नयाँ सफ्टवेयर राख्ने योजना बनाएका छौँ ।

अहिले हामीले राख्न प्रस्ताव गरेको नयाँ ‘सफ्टवेयर’मा अनलाइन ‘टिकेटिङ’, मोबाइल एप, मोबाइल पेमेन्ट, ई–कमर्सलगायतका सयौँ नयाँ फिचरहरु थपिने छन् ।’ नेपाल एअरलाइन्सका सेवालाई थप आधुनिक र प्रभावकारी बनाउन आफूहरु लागिपरेको पनि महाप्रबन्धक पौडेलको दाबी छ ।

प्रतिक्रिया